तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमण बढेपछि झापाको बुद्धशान्ति गाउँपालिका सिल

झापा । कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल गरिने भएको छ । 


आज राति १२ बजेबाट १२ गते मङ्गलवार राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिनुभयो ।


पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एक हप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका प्रमुख भुजेलले बताउनुभयो । 


कोरोना संक्रमण भयावह बन्दै गइरहेकाले गाउँवासीलाई सुरक्षित राख्न बाध्य भएर सिल गरिएको बताउँदै प्रमुख भुजेलले सबैलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । 

निर्देशनको पालना नगर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने उहाँले बताउनुभयो । बुद्धशान्तिमा पछिल्लो दुई दिनमा मात्र १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button