कृषकलाई बङ्गुरका पाठी वितरण

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिकाले बङ्गुर पकेट क्षेत्रका कृषकहरूलाई उन्नत जातका बङ्गुरका पाठी वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत बङ्गुर पकेट क्षेत्र महालक्ष्मी नगरपालिका वडा नं.३ र वडा नं.४ का ६० जना कृषकहरूलाई बङ्गुरका पाठी प्रदान गरिएको हो ।
महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, वडा नं.३ का वडाध्यक्ष भरत थापा, वडा नं.४ का वडाध्यक्ष यज्ञबहादुर चापागाईँ लगायतले कृषकहरूलाई बङ्गुरका पाठी प्रदान गरेका हुन् । वडा नं.३ को डाँडा गाउँ बङ्गुर पालक कृषक समूह, वडा नं.४ को राम नगर बङ्गुर पालक कृषक समूह र भिलिमिले पाङ्चा बङ्गुर पालक कृषक समूहसँग आबद्ध २०/२० जना कृषकलाई बङ्गुरको पाठी दिइएको हो । त्यस्तै, बङ्गुरको सङ्ख्या वृद्धि गर्न तीन वटै कृषक समूहलाई एक/एक वटा बङ्गुरका पाठा पनि प्रदान गरिएको महालक्ष्मी नगरपालिकाका पशु सेवा प्राविधिक किरण कार्कीले जानकारी दिनुभयो ।
महालक्ष्मी नगरपालिकाले वडाहरूलाई फरक–फरक पकेट क्षेत्र घोषणा गरेर व्यावसायिक हिवासले अघि बढ्न सहयोग र हौसला प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्