राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबारबाट टिमको प्रशिक्षण सुरु भएको जनाएको छ ।
एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपालले तयारी सुरु गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।
यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
यो प्रतियोगिताका खेल्न अगाडी नेपाली महिला टिमले विदेशी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने सम्भावना रहेको छ । जसका लागि एन्फाले विभिन्न देशसँग कुरा गरिरहेको छ ।
च्याम्पियनसिपको तयारीका रुपमा सो मैत्रीपूर्ण खेल कहाँ खेल्ने भन्ने टुङ्गो भने लागिसकेको छैन । तर आफु भन्दा बलियो टिमसँग मैत्रीपूर्ण खेल खेलाउने एन्फाको योजना छ ।








प्रतिक्रिया राख्नुहोस्