नमोबुद्धका कृषकलाई अनुदानमा कृषि औजार

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले कृषकलाई अनुदानमा मिनिट्रेलर सहितका कृषि औजार वितरण गरेको छ । नगरपालिकाले वडा नंं. २ का ६५ जना कृषकहरूलाई उपकरण वितरण गरेको हो ।
आर्थिक बर्ष २०७७÷७८ को कार्यक्रमअनुसार आइतबार आयोजित एक कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नं. २ का वडाध्यक्ष सञ्जीव ढकालले वडाका कृषकलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
कुल ३२ जना कृषकलाई मिनिट्रेलर हस्तान्तरण गरिएको र जसमध्ये वडा कार्यालयले नगरपालिकाबाट प्राप्त दुई वटा तथा वडाको बजेटबाट व्यवस्था गरिएको १६ वटासहित १८ वटा एवं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी ब्लक प्रवर्द्धन एवं विकास कार्यक्रम अन्तर्गत कृषक समूह/सहकारीमार्फत थप १४ वटा मिनिट्रेलर (ट्याक्टर) वितरण गरिएको हो । साथै १० वटा च्याफ कटर (भुसा काट्ने मेसिन) तथा २३ वटा इलेक्ट्रिक पम्प वितरण गरिएको हो । कृषकहरूलाई मिनिट्रेलर र इलेक्ट्रिक पम्प ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ भने च्याफ कटर ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको नगरपालिकाले जानकारी दिएको छ ।

कृषकलाई कृषि औजार एवं उपकरण वितरण गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले कृषि क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राख्दै कृषिसम्बन्धी कार्यक्रमहरू अघि बढाइएको बताउनुभयो । नगरपालिकामा जनप्रतिनिधि आए लगत्तै कृषि नीति तयार पारिएको र विभिन्न वडामा पकेट क्षेत्रहरू बनाएर कृषि उत्पादनलाई जोड दिइएको तिमल्सिनाले बताउनु भयो । उहाँले नगरपालिका तथा वडाबाट अनुदानमा वितरण गरिएका सामग्रीको सही सदुपयोग गर्न पनि कृषकहरूलाई आग्रह गर्नुभयो । कृषि उत्पादनको बजारीकरणका लागि तरकारी सङ्कलन केन्द्रहरूको व्यवस्थापन गरिएको नगर प्रमुख तिमल्सिनाले बताउनुभयो ।
वडा नं. २ का वडाध्यक्ष सञ्जीव ढकालका अनुसार मिनिट्रेलरका लागि १ सय ६७ जना किसानले आवेदन दिएकोमा गोला प्रथाबाट छानिएका किसानलाई मिनिट्रेलर दिइएको उहाँले बताउनुभयो । च्याफ कटरका लागि ६२ जना कृषकले निवेदन दिएका थिए भने २३ जना कृषकले इलेक्ट्रिक पम्पका लागि निवेदन दिएका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भने कृषक समूहले छनोट गरेका कृषकलाई मिनिट्रेलर वितरण गरिएको वडाध्यक्ष ढकालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्