तपाईँ सुन्दै हुनुहुन्छः

वाग्मती प्रदेशमा खोपका लागि दुई अर्ब विनियोजन

वाग्मती। वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत शय्या छुट्टाउन निर्देशन गरेको छ ।

सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि सङ्क्रमितलाई उपचार गर्न अस्पतालमा शय्याको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकार गरिरहेको जानकारी दिनुभयो ।

चालू आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने जनाउँदै उहाँले खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको र खोप व्यवस्थापनका लागि रु दुई अर्ब बजेट विनियोजन गरिएको बताउनुभयो ।

मन्त्रालयको गतिविधिका बारेमा आज यहाँ सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उहाँले खोप खरिदका लागि प्रदेश सरकारले पनि पहल गरिरहेको संभव नभएमा सङ्घीय सरकारसँग सहकार्य गरेर खोप लगाउने ल्याउने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले कोरोना सङ्क्रमणबाट सुरक्षित रहन स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेसमेत आग्रह गर्नुभयो । यसैबिच प्रदेश सरकारलाई ‘एसटिसी ग्रुप’ नामक संस्थाद्वारा २०० अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र उप्रेतीले हालै सामाजिक विकास मन्त्रालयलाई ती सिलिन्डर हस्तान्तरण गर्नुभएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button