वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई २१ थान सिसिटिभी क्यामरा हस्तान्तरण

वीरगंज । बीरगंजको सुरक्षा थप सुदृढ बनाउने उद्देश्यले पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई २१ थान सिसिटिभी क्यामरा हस्तान्तरण गर्नु भएको छ ।
सांसद यादवले आफ्नो संसदीय कोषबाट १० लाख रुपैयाँको लागतमा व्यवस्थित एवम् सुरक्षित वीरगञ्जको अवधारणा अनुसार वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा स्थानीय प्रशासन, प्रहरीको सहकार्यमा गठित सेफर वीरगञ्जलाई २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले थप सिसिटिभी क्यामेराबाट वीरगञ्ज नगरको सुरक्षा व्यवस्थामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसै गरी सांसद यादवले रजत जयन्ती चोकदेखि परवानीपुर चोक हुँदै ड्राईपोर्टसम्मको ट्राफिक लाइटको आवश्यकता देखिएको चोकहरूको पहिचान गर्न र लाइटको व्यवस्थापनको लागतको अध्ययन गर्न प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेसँग आग्रह गर्दै त्यसमा लाग्ने खर्चको व्यवस्थापन आफूले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले हस्तान्तरित सिसिटिभी क्यामेरा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ–सेफर वीरगञ्ज समितिको प्रत्यक्ष निरीक्षणमा जडान भई शीघ्र सञ्चालन आउने जानकारी दिनुभयो ।
वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष द्वय हरि गौतम र माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव द्वय सुशान्त चाचान र अनोज रिँगटालगायत कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।
सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सहजीकरण सङ्घका महासचिव तथा सेफर वीरगञ्ज समितिका सभापति मनोजकुमार दासले गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्