चक्रेश्वर माध्यमिक विद्यालय तीनतारे नमुना विद्यालय घोषणा

बझाङ । बझाङको थलारा गाउँपालिका–५ मालुमेलामा रहेको चक्रेश्वर माध्यमिक विद्यालयलाई तीनतारे नमुना विद्यालय घोषणा गरिएको छ । वि.सं २०२१ सालमा स्थापना भएको विद्यालयले विभिन्न १० सूचक पुरा गरेपछि बुधवार एक कार्यक्रमका बीच तीनतारे नमुना विद्यालय घोषण गरिएको हो ।
थलारा गाउँपालिका अन्तर्गतको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (आरभिडब्लुआरएमपी) को सहयोगमा विद्यालयलाई तीनतारे नमुना विद्यालय घोषणा गरिएको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष टेक बहादुर खड्काले बताउनुभयो ।
ग्रामीण जलस्रोत परियोजनाले नमुना विद्यालय घोषणा गर्नको लागि निर्धारण गरेका दश सूचकमा खानेपानी, शौचालय, सरसफाइ स्वच्छता हरियाली वातावरण, शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन लगायतका सूचकहरू पुरा गरेकाले विद्यालय नमुना घोषणा गरेको हो । बझाङ जिल्लाकै तेस्रो नमुना विद्यालयका रुपमा उक्त विद्यालयलाई तिन तारे नमुना विद्यालय घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र गिरीले बताउनुभयो ।

जिल्लामा पहिलो तीनतारे विद्यालयमा भगवती आधारभूत विद्यालय थलारा –७ गोठीगाउँ चैत महिनामा नमुना घोषणा भएको थियो । भने, असार २८ गते छविसपाथिभेरा गाउँपालिका –१ को जनप्रिय माध्यमिक विद्यालय वगडगाउँ दोस्रो नमुना विद्यालय घोषणा भएको छ ।
त्यस्तै चक्रेश्वर माध्यमिक विद्यालयलाई तेस्रो नमुना विद्यालय घोषणा गरिएको छ । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी र जिल्ला समन्वय समिति प्रमुख खडक खड्काले विद्यालयको भौतिक सुधार जति भएको छ । त्यतिकै शैक्षिक सुधार होस भनेर शुभकामना दिनुका साथै विद्यालयको शैक्षिक गुणस्तरमा आफूहरूबाट हुने सहयोग सदैव रहने समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्