तपाईँ सुन्दै हुनुहुन्छः

६ महिनामा चितवनमा ६० वटा मानवअधिकार उल्लङ्घनका घटना : सबैभन्दा बढी बालिका बलात्कारका घटना

चितवन । चितवनमा पछिल्लो ६ महिनामा ६० वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । सो अवधिमा सबैभन्दा बढी बालिका बलात्कार घटना भएका छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) चितवनले  आज भरतपुरमा अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रमको आयोजना गरी २०७७ पुष १७ देखि २०७८ असार १६ गतेसम्म भएका घटनाको जानकारी दिएको हो । 

ती घटना मध्ये तथ्याङ्क अनुसार सो अवधिमा सबै भन्दा बढी १३ वटा बालिका बलात्कारका घटना भएका थिए । यस्तै बाल यौन दुरुपयोग १० वटा, महिला बलात्कार ६ वटा, बालिका बलात्कार प्रयास ३ वटा, बहुविवाह ३ वटा , महिला बलात्कार प्रयास २ वटा,बालिका बेचबिखन, बालविवाह र आत्महत्या दुरुत्साहन १/१ वटा घटना भएका थिए । 

समीक्षा कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी एवं यौनजन्य हिंसा विरुद्ध साझा अभियानकी सह–संयोजक संगीता भट्टराईले २१ औँ शताब्दीमा पनि महिला हिंसा नघट्नु चिन्ता र बहसको विषय भएको बताउनुभयो  । महिला हिंसा न्यूनीकरणका लागि सोच परिवर्तन गर्नुपर्ने भन्दै उहाँले घटना घटाउनेका लागि दण्ड र सजायले मात्र नपुग्ने बताउनुभयो  । यसका लागि घटना लुकाउन नहुने र यसको विरुद्ध आवाज उठाउनुपर्ने उहाँको भनाई छ । 

नेपाल बार एसोसिएसन, चितवनका पूर्व अध्यक्ष जगन्नाथ भण्डारीले चितवनमा मात्रै नभई देशभर मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि हुँदै गएको र कतिपय घटनामा नागरिकता नपाउँदा पनि मानव अधिकार घटनामा कमी आउन नसकेको बताउनु भयो  । ‘नागरिकता नपाउनु नै सबैभन्दा ठुलो मानव अधिकार उल्लङ्घनको विषय हो, उहाँले भन्नुभयो , नागरिकता नपाएपछि मान्छे हरेक किसिमका अधिकार र न्यायबाट पनि वञ्चित हुन्छ ।’ 

मानवअधिकारका घटना राज्यको तर्फबाट अपराध र मानव अधिकारको तर्फबाट उल्लङ्घनका घटना भएको भन्दै उहाँले नेपालमा आर्थिक, सामाजिक, सांस्कृतिक विभेदका कारण पनि यस्ता घटनामा न्यूनीकरण हुन नसकेको उहाँको भनाई छ । ‘यसैका कारण पीडितले न्याय नपाउने, निर्दोष फस्ने, पीडक उम्कने गरेका छन् ।’ उहाँले भन्नुभयो  । 

पत्रकार महासङ्घ, चितवनका अध्यक्ष नारायण अधिकारीले पत्रकारले संवेदनशील विषयमा कलम चलाउँदा संवेदनशील हुनुपर्ने बताउनुभयो  । यस्ता घटना न्यूनीकरणको लागि मिडियाको भूमिका महत्त्वपूर्ण हुने भन्दै यस विषयमा पत्रकारलाई तालिम दिनु आवश्यक रहेको बताउनुभयो  । अदालतमा विचाराधीन रुपमा रहेका मानवअधिकारका मुद्दाका विषयमा खोतलेर र अतिरञ्जित गर्न नहुने उहाँको भनाई थियो । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले मानव अधिकार उल्लङ्घनका घटनाले २१ औ शताब्दीको मानव सभ्यतामा चुनौती थपिएको बताउनुभयो  । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि यस्ता घटनाहरू वृद्धि हुँदै गएको भन्दै मिडियाले सत्य तथ्य विषयवस्तु सचेतनामा जोड दिनुपर्ने उहाँको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button