तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज महानगरपालिका पूर्ण खोप पालिका घोषणा

वीरगंज । वीरगन्ज महानगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । नगरसभा गृहमा आज आयोजित घोषणा सभामा प्रदेश नम्बर २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले वीरगन्ज महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नुभयो । 

घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले बालबालिकाको पहिलो अधिकार स्वास्थ्य नै रहेकोले कोही पनि बालबालिका खोपबाट वञ्चित हुन नहुने कुरामा जोड दिनुभयो । 

अहिले संसारभर फैलिएको कोरोना महामारीमा स्वास्थ्य क्षेत्रमा निकै जटिलता आएको बताउँदै तेस्रो चरणमा बालबालिकाहरू अझ बढी जोखिममा रहने विज्ञहरूले चेतावनी दिएका हुँदा अभिभावकले अझ थप सतर्कता अपनाउनु पर्ने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले महानगरपालिकालाई पूर्ण खोप घोषणा गरेर मात्रै नहुने बताउँदै यसलाई निरन्तरता दिनका लागि स्थानीय वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूको सक्रियता आवश्यक रहेको बताउनुभयो । 

वडा अध्यक्षहरूले आफ्ना वडाहरूमा रहेको वडा स्तरीय खोप समितिलाई सक्रिय बनाएर वडाभित्रका बालबालिकाहरूलाई खोपको सुनिश्चितताका लागि सक्रिय भूमिका खेल्न नगर प्रमुख सरावगीले आग्रह गर्नुभयो । वीरगन्ज महानगरपालिकाका जन्मिए देखि १५ महिना सम्मका बालबालिकालाई लगाइने १२ प्रकारका सबै खोप लगाइ सकेपछि पूर्ण खोप घोषणा भएको हो । 

पूर्ण खोप घोषणाका लागि वीरगन्ज महानगरपालिकाको कार्यालयले केही समय पहिले महानगरका ३२ वटै वडामा १६ देखि २३ महिना सम्म उमेर समूहका बालबालिकाहरूको बारेमा २९ हजार १ सय ९३ घरधुरीमा सर्वेक्षण गरेको थियो । 

सर्वेक्षणका क्रममा १६ देखि २३ महिना सम्म उमेर समूहका बालबालिका २ हजार ६ सय ६१ जना भेटिएका र तीमध्ये जन्मिएदेखि १५ महिनाभित्रमा सबै १२ प्रकारका खोप लगाउने बालबालिकाको सङ्ख्या २ हजार ६६ जना मात्र देखिएको महानगरका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतोले बताउनुभयो । 

उहाँले ५ सय ८७ जना बालबालिकाले भने आवश्यक १२ प्रकारका मध्ये आंशिक मात्र खोप लगाएको भेटिएको र ८ जना बालबालिकाले भने कुनै पनि प्रकारको खोप नलगाएको फेला परेको बताउनुभयो । 

नगर स्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button