जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको कन्ट्रोल टावरमा क्षति

जनकपुरधाम । जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको कन्ट्रोल टावर उद्घाटन भएको केही महिनामै क्षतिग्रस्त बनेको छ ।
करिब ४२ करोडको लागतमा ९ वर्ष लगाएर निर्माण सम्पन्न भएको भवनमा क्षति हुनुलाई निक्कै गम्भीर रुपमा लिइएको छ । ४ हजार १ सय ३४ वर्ग मिटरमा फैलिएको नयाँ टर्मिनल भवन पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ ।
यो नेपालका लागि बिलकुलै नयाँ प्रविधिमा निर्माण भएको छ भने यो प्रविधि नेपालका अन्य विमानस्थलहरूमा प्रयोग गरिएको छैन ।
निर्माण सम्पन्न भएको केही महिनामै कन्ट्रोल टावर क्षतिग्रस्त हुँदा यसको गुणस्तरीयता माथि ठुलो प्रश्न चिन्ह लागेको छ ।
जनकपुरधाम विमानस्थलका प्रमुख किरण गौतमले हावाहुरीका कारण कन्ट्रोल टावरको सिमेन्ट ब्लक उप्केको हुनसक्ने भन्दै यसको पुनः निर्माण ठेकेदार कम्पनीले नै गर्ने जानकारी दिनुभयो ।
उहाँले एक वर्षसम्म मर्मत सम्भारको काम ठेकेदार कम्पनीले नै गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख रहेको बताउनुभयो ।
६ कट्ठा क्षेत्रफलमा स्टिल स्ट्रक्चरमा बनेको टर्मिनल भवन र ६० फिट बराबरको ६ तल्ले कन्ट्रोल टावर निर्माण गरिए पनि टावरको माथिल्लो भाग केही दिनमै क्षतिग्रस्त बनेको छ ।

२०६९ साल कार्तिक महिनामा १८ करोडको लागतमा नयाँ टर्मिनल भवन निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले शिलान्यास गर्नु भएको थियो ।
डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु एण्ड एन के कन्स्ट्रक्सन तथा नागरिक उड्डयन प्राधिकरण बीचमा २०६९ असोज १५ गते सम्झौता भएको थियो । प्राविधिक समस्या, रकम अभाव लगायतका कारण देखाउँदै टर्मिनल भवन निर्माणको म्याद पटक–पटक थप्दै ८ वर्ष पुर्याइएको थियो ।
१८ करोडको लागतमा निर्माण गर्ने सम्झौता सुरुमा गरिए पनि विभिन्न बहाना देखाउँदै पटक–पटक गरेर म्याद थप गरेर पनि निर्माण सम्पन्न गर्न नसकेपछि २०७४ सालमा पप्पु एण्ड एन के कन्स्ट्रक्सन सँगको सम्झौता रद्द गर्दै निर्माणको कामको आधा काम पप्पुले नै गरेका कारण २१ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।
त्यसपछि बाँकी काम र फिनिसिङ गर्नका लागि २१ करोड २७ लाख ७ हजार ७ सय ३० रुपैयाँको लागतमा थेगिम गाल्वा उमा एण्ड कम्पनी जेभीसँग सम्झौता भएको थियो । पप्पुको सम्झौता रद्द गरेर नयाँ निर्माण कम्पनीसँग सम्झौता गरिएपछि १ वर्षमा काम सम्पन्न गर्नुपर्नेमा नयाँ कम्पनीले पनि काम गर्न नसकेपछि १७ महिनाको थप म्याद गरिइएको थियो ।
जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २०७७ साल मङ्सिर २३ गते गर्नु भएको थियो ।
निक्कै राम्रो तथा आकर्षक देखिएको नयाँ टर्मिनल भवनमा क्षति भएपछि विमान कम्पनीका सञ्चालक, कर्मचारीहरू दुखी बनेका छन् ।








प्रतिक्रिया राख्नुहोस्