तनहुँ प्रहरीद्वारा लागु औषधसहित विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागु औषधसहित विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले लागु औषध मुद्दामा फरार रहेका व्यास नगरपालिका २ कालिका मार्ग बस्ने २९ वर्षीय मोहमद कमरुल हकलाई पक्राउ गरेको छ ।
जिल्ला अदालतले उनलाई २७ दिन कैद र रु ४ हजार जरिवाना तोकको थियो । २०७१ कात्तिक २४ गते अदालतले फैसला गरेको थियो । फैसला गरेको मिति देखी नै फरार रहेका मोहमदलाई असार ३० गते बुधबार पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले सम्बन्ध बिच्छेद मुद्दामा विगत ६ वर्ष देखी फरार रहेका १ जना, कुटपिट मुद्दामा विगत ५ वर्ष देखी फरार रहेका २ जना र गाली बेइज्जती मुद्दामा विगत ९ वर्ष देखी फरार रहेका १ जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
फरार प्रतिवादीलाई पक्राउ गरी तोकिएको जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
तनहुँ प्रहरीले पछिल्लो समय विभिन्न अपराध एवं मुद्दाहरूमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरूको खोजी गर्ने कार्य तीव्रता दिँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्