सोलुखुम्बुमा ११ हजार ७ सयभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न

सोलुखुम्बु । आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म आइपुग्दा सोलुखुम्बुमा ११ हजार ७२८ परिवारको निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेका १३ हजार २८३ घरमध्ये ९५ प्रतिशत घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता रकम लिएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई सोलुखुम्बुका इकाई प्रमुख विमलप्रसाद बरालले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा ११ हजार ८ सय ९४ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । पछिल्लो समयसम्ममा १२ हजार ३ सय २० ले अनुदानका लागि सम्झौता गरेका छन् ।
जसमध्ये १२ हजार २ सय ९१ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । अब ४ सय २६ लाभग्राहीले दोस्रो किस्ता र ५ सय ९२ लाभग्राहीले तेस्रो किस्ता लिन बाँकी रहेको प्रमुख बरालले बताउनुभयो ।
१५ घर लाभग्राहीले पहिलो किस्ता रकम घर नबनाएर फिर्ता गरेका छन् ।
त्यस्तै, प्रबलीकरणतर्फ जिल्लामा ९ सय ५२ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् ।
सम्झौता गरेका सम्पूर्ण लाभग्राहीले पहिलो किस्ता लिएका छन् । जिल्लामा ९ सय४९ लाभग्राहीले प्रबलीकरण गरेका छैनन् । जिल्लामा २२ भूमिहीनमध्ये २० जनाले अनुदानबाट जग्गा खरिद गरेको आयोजना कार्यान्वयन इकाईको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, नाम्टोल छोलिङ गुम्बाको पुनर्निर्माण गरिएको छ ।
शिक्षातर्फ चालु आर्थिक वर्षमा ४५ वटा विद्यालय भवन पुनर्निर्माण भएका छन् । ६८ वटा विद्यालय भवन निर्माण हुनुपर्नेमा २३ वटा भवन अझै निर्माणाधीन अवस्थामा रहेका छन् । शौचालय ४७ र खानेपानीको २५ वटा संरचना निर्माण भएको कार्यालयले जनाएको छ ।
आवास पुनः निर्माणका लागि पहिलो किस्ता बापत पचास हजार रुपियाँ पाउने भूकम्प पीडितले मापदण्डअनुसार घरको जग तयार गरेपछि दोस्रो किस्ता बापत एक लाख ५० हजार रुपियाँ र घर पूर्ण तयार गरेपछि बाँकी एक लाख रुपियाँ पाउने प्रावधान छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न समयको प्राधिकरणको निर्णयबाट पनि लाभग्राहीमा नपरेकाहरुमध्ये पुनरावेदन गर्न चाहनेलाई गएको भदौमा जिल्ला आयोजना कार्यान्वयन इकाईमार्फत पुनरावेदन गर्न सक्ने अन्तिम मौका दिएपछि ४६ घर लाभग्राही थपिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्