तपाईँ सुन्दै हुनुहुन्छः

कृषकलाई अनुदानमा ५० लाख बराबरको कृषियन्त्र तथा उपकरण वितरण

मकवानपुर । मकवानपुरको कमवानपुरगढी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई ५० लाख बराबरको विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ ।

गाउँपालिकाले किशानलाई व्यवसायिक कृषितर्फ आकर्षित गर्ने उदेश्यका साथ ५० प्रतिशत अनुदानमा करीब ५० लाख बराबरको विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।

गाउँपालिकाले कल्टिभेटरसहितको ठूलो ट्रयाक्टर २ वटा, मिनि टिलर २७ वटा, मकै छोडाउने मेसिन २० वटा र हाते मकै रोप्ने मेसिन २० वटा वितरण गरेको हो ।

कार्यक्रमबाट ५ वटा कृषि सहकारी, १६ वटा कृषक समूह र १२ वटा कृषि फर्मसहित कृषकहरु लाभान्वित भएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

उक्त कृषियन्त्र तथा उपकरण खरिदमा कुल ४९ लाख ८५ हजार ९सय ९७ रुपैँया लागत मध्ये गाउँपालिकाको ५० प्रतिशत र बाँकी ५० प्रतिशत कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीको लगानी रहेको उहाँले जानकारी दिनुभयो ।

किसानलाई “किसान क्रेडिट कार्ड”
कृषि क्षेत्रमा आकर्षित गर्न गाउँपालिकाले किसानलाई लक्षित गरी ‘किसान क्रेडिट कार्ड’ वितरण समेत सुरु गरेको छ ।

साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ गाउँपािलकाले क्रेडिट कार्ड लागु गरिएको गाउँपलिकाका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिनुभयो ।

पहुँच कम पुगेका साना किसानका लागि बिनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि दुई लाख प्रदान गरिने जनाइएको छ ।

सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेड, आरएण्डी इनोभेटिभ सोलुशन प्रालि, मकवानपुरगढी र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच चौपक्षीय सम्झौता गरेर किसानलाई न्युनतम ब्याजमा दुई लाख सम्मप्राप्त गर्न सक्ने बताइएको छ ।

गाउँपालिकाले पहिलो चरणमा आठ महिला र १७ पुरुष किसानलाई किसान कार्डमार्फत उक्त रकम प्रदान गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो ।

किसान कार्डमार्फत उनीहरूले बिना धितो सहुलीयत ब्याज दरमा कृषि कर्जा पाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button