तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा निषेधाज्ञा साउन १० सम्म लम्बियो, अबदेखि होटेल रेष्टुरेन्ट खुल्ने

तनहुँ । तनहुँमा आगामी साउन १ गतेबाट होटेल तथा रेष्टुरेन्ट खुल्ने भएका छन् ।जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले बिहान ९ देखि दिउँसो ३ बजेसम्म रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो ।

जिल्लामा निषेधाज्ञा भने आगामी साउन १० गतेसम्मका लागि लम्ब्याउन बैठकले प्रशासनलाई सिफारिस गरेको छ ।निषेधाज्ञा थप भए पनि यस अघिको भन्दा केही खुकुलो बनाइएको छ । साउन १ गते देखी जिल्लाका सबै सडकहरूमा जोर बिजोर नम्बर अनुसार सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने भएको छ ।

यस अघि राष्ट्रिय राजमार्गमा मात्र सवारी सञ्चालन गर्न पाइने थियो ।बिहान ६ देखी साँझ ६ बजेसम्म सिट सङ्ख्या भन्दा धेरै यात्रु राख्न नपाइने गरी जोर बिजोर अनुसार सवारी सञ्चालन गर्न पाइने निर्णय बैठकले गरेको छ ।

सार्वजनिक सवारी सञ्चालन गर्दा चालक दल र सबै यात्रुले अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्नु पर्ने छ ।त्यस्तै बैङ्क तथा वित्तीय संस्थाहरू न्यूनतम कर्मचारीको उपस्थिति गराई स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न पाइने भएको छ ।

त्यस्तै फलफूल, खाद्यान्न, तरकारी, दूध र दुग्धजन्य पदार्थ, माछा, मासु, अन्डा, दाना पशु पन्छीको औषधी विक्री गर्ने पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ भने अत्यावश्यक बाहेका अन्य सबै प्रकारका व्यवसाय बिहान ९ देखी ३ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी घर, हेल्थ क्लब, ब्युटी पार्लर, सैलुन, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शक सहितको खेलकुद तथा भौतिक रुपमा हुने तालिम, प्रशिक्षण र सेमिनार पनि निषेधाज्ञाको समयमा सञ्चालन गर्न नपाइने भएको छ ।

यसै गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी आउने ग्राहकलाई व्यापार नगर्न र व्यवसायीले समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नु पर्ने बैठकले निर्णय गरेको छ ।मास्क नलगाई आउने व्यवसायीलाई सेवा वा बस्तुको विक्री गरेमा त्यस्तो व्यवसायीलाई कारबाही गरिने निर्णय समेत भएको छ ।

निषेधाज्ञा आदेशको उल्लङ्घन गरेमा कोभिड १९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button