तपाईँ सुन्दै हुनुहुन्छः

देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा दीप प्रज्वलन

बैतडी। सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा मङ्गलवार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्त रूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घको अगुवाइमा पाटनमा र दोगडाकेदारमा तरुण दलको अगुवाइमा दीप प्रज्वलन गरिएको हो । अदालतको फैसलाले लोकतन्त्रको रक्षा भएको भन्दै खुसीयालीमा दीप प्रज्वलन गरिएको नेपाल विद्यार्थी सङ्घ बैतडीका अध्यक्ष कपिल केसीले बताउनुभयो ।

यस्तै सुदूरपश्चिमको चेलो देशकै प्रधानमन्त्री भएको खुसीयालीमा आफूहरूले दीप प्रज्वलन गरेको नेपाल तरुण दलका जिल्ला अध्यक्ष घनश्याम भट्टले जानकारी दिनुभयो । सर्वोच्चको फैसलाले लोकतन्त्रको विजय भएको माओवादी केन्द्रका दोगडाकेदार गाउँपालिका अध्यक्ष मानसिंह ऐरीले बताउनुभयो ।

दीप प्रज्वलन कार्यक्रममा काँग्रेसका तरुण दल, नेपाल विद्यार्थी सङ्घका साथै नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएलका पदाधिकारीको समेत सहभागिता थियो । सर्वोच्च अदालतले सोमबार संसद् पुनः स्थापना गर्ने फैसला गरेको थियो भने प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रधानमन्त्रीमा देउवासहित अन्य चार मन्त्रीले मङ्गलवार साँझ नै शपथग्रहण गरिसक्नुभएको छ । देउवा पाँचौँ पटक देशको प्रधानमन्त्री बन्नुभएको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button