बागमती प्रदेश सरकारद्वारा विपद् व्यवस्थापनसम्बन्धी कार्यविधि तयार

मकवानपुर । बागमती प्रदेश सरकारले विपद् पश्चात् तत्काल खोज, उद्धार तथा राहत वितरण मापदण्ड सम्बन्धी कार्यविधि तयार गरेको छ ।
प्रदेश बिपी व्यवस्थापन निर्देशक समितिले विपद् पश्चात् तत्काल खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन “विपद् खोज, उद्धार तथा राहत वितरण मापदण्ड सम्बन्धी कार्यविधि, २०७८” तयार गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री एवम् प्रदेश बिपी व्यवस्थापन निर्देशक समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा मङ्गलवार बसेको बैठकले उक्त कार्यविधिको मस्यौदा माथि छलफल गरी स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेस गर्न सहमति प्रदान गरेको छ ।
बैठकले मनसुनको अवधिभर हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र सबै विषयगत नेतृत्वदायी निकाय तथा सह नेतृत्वदायी निकायबिच जिम्मेवारी र स्पष्टता र समन्वय कायम गर्दै पूर्व तयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन “मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना, २०७८” लाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकले मनसुन अवधि पूर्वार्धमै रहेकोले यस अवधिमा मनसुनी वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिलाई रोकथाम तथा न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन प्रदेशस्थित सम्पूर्ण मन्त्रालय र अन्तर्गतका निकायहरू तथा सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।
बैठकले प्रदेश सभा, प्रदेश मामिला समितिले सिन्धुपाल्चोक जिल्लाका विभिन्न भूभागमा मिति २०७८–०३–०१ गते गएको बाढी तथा पहिरोको स्थलगत भ्रमण पश्चात् तयार पारिएको प्रतिवेदनमा विपद् पूर्व तयारी र जोखिम न्यूनीकरणका सन्दर्भमा प्राप्त सुझावमाथि छलफल गरी कार्यान्वयन गर्न सम्बन्धित निकायहरूले पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा मुख्यमन्त्री पौडेलले मनसुन जन्य विपद् बाढी, पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनः स्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणमा विशेष ध्यान पुर्याउन निर्देशन दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्