तपाईँ सुन्दै हुनुहुन्छः

‘युवा प्रधानमन्त्रीमा बराल : लोकतन्त्र र नेतृत्व विकासका लागि नमुना युवा संसद्

काठमाडौँ । मुलुकले नयाँ प्रधानमन्त्रीका रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्राप्त गरिरहेको बेला आजै ‘नमुना युवा  प्रधानमन्त्री’मा स्मृति बराल चयन हुनुभएको छ । ‘सङ्घीय नमुना युवा संसद्’मा आज भएको मतदानमा कास्की पोखराकी २३ वर्षीया बराल प्रधानमन्त्रीमा चयन हुनुभएको हो । उहाँ कूल मतको ५२ प्रतिशत ल्याई चयन हुनुभएको राष्ट्रिय युवा परिषद्का श्यामकाजी खत्रीले जानकारी दिनुभयो ।

उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी नेत्री बुढाथोकीलाई पराजित गर्दै नमुना युवा संसद्मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । रामेछापका बुढाथोकीले ४८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । यसअघि २०७५ सालमा नमुना प्रधानमन्त्रीमा अशोक खनाल र २०७६ मा सञ्जीव न्यौपाने चयन हुनुभएको थियो । 

यस्तै नमुना युवा संसद्ले राष्ट्रपतिमा रुपन्देहीकी २२ वर्षीया प्रकृति पोखरेल निर्वाचित गरेको छ । आजै नमुना प्रधानमन्त्री  बरालले १० सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । अर्थमन्त्रीमा नीर श्रेष्ठ, गृह मन्त्रीमा सुरेन्द्र गिरी, युवा तथा खेलकूद मन्त्रीमा श्रद्धा कुँवर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा रुपा कठायत, पर्यटन तथा वातावरण मन्त्रीमा सफल पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अमित माझी, संसदीय व्यवस्था तथा कानून मन्त्रीमा अनिल कुँवर, श्रम तथा रोजगार मन्त्रीमा आशिष् बास्तोला, मुख्य सचेतकमा खेम अवस्थी, सचेतकमा विद्या ढुङ्गाना र प्रमुख सचेतकमा अनिल भुसाल चयन हुनुभएको छ । 

यसै गरी सभामुखमा सिन्धुपाल्चोकका अभिषेक तिवारी, उपसभामुखमा आरती भट्टराई, ज्येष्ठ सदस्यमा नवीन पहाडी र संसद्का प्रमुख प्रतिपक्ष दलका नेतामा रञ्जन पौडेल चयन हुनुभएको छ । राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराउन सोमबारदेखि भर्चुअल ‘सङ्घीय नमुना युवा संसद्’ सञ्चालन गरेको छ । 

यसरी नमुना युवा संसद्बाट चयन भएका प्रधानमन्त्री, सभामुख, मन्त्री, प्रमुख सचेतक, प्रमुख प्रतिपक्ष दलका नेता र सांसदको भूमिकामा चयन हुनुभएका युवाले आजदेखि सङ्घीय नमुना संसद् सभाको अभ्यास गर्दै छन् । उनीहरूलाई सोमबार नेपालको संसदीय अभ्यास, व्यवस्थापिका संसद् सञ्चालन, संसदीय शब्दावली र लोकतन्त्रबारे प्रशिक्षित गरिएको थियो ।

सोह्रदेखि २४ वर्ष उमेर समूहका ८० युवालाई संसदीय प्रणालीबारे जानकारी गराएर आज र भोलि(बुधवार) भर्चुअल रुपमा  सङ्घीय नमुना युवा संसद्को अभ्यास गराइँदै छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि नमुना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले युवालाई कानून, संविधान, सभ्यताको ज्ञान र स्वयंसेवी भाव, अधिकार, कर्तव्य र दायित्व बोध गराउन संसदीय संसद्मा अभ्यास गराइने बताउनुभयो । यसअघि यही असार २२ देखि २६ गतेसम्म भएको ‘प्रदेश नमुना युवा संसद्’बाट मुख्यमन्त्रीका भूमिकामा प्रदेश नं १ बाट नवीन पहाडी, प्रदेश नं २ बाट पूजाकुमारी साह, वाग्मतीबाट अश्मी सापकोटा, गण्डकी प्रदेशबाट सन्दीप गिरी, लुम्बिनीबाट सुरज भट्टराई, कर्णालीबाट प्रशान्त लामिछाने र सुदूरपश्चिमबाट सुरेन्द्र गिरी चयन हुनुभएको थियो ।

परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था र संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमुना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ । कोरोना भाइरसका कारणले यस वर्ष परिषद्ले भर्चुअल कार्यक्रम सञ्चालन गरेको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button