लुम्बिनीमा बजेटमाथिको छलफल सकियो
रुपन्देही । सत्ता पक्ष र विपक्षी गठबन्धनको पेचिलो विषय बनेको लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०७८–०७९ को बजेट माथिको छलफल सकिएको छ ।
असार १ गते प्रस्तुत भएको बजेटमाथि आइतबारबाट छलफल सुरु भएको थियो । सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै विपक्षी गठबन्धनले असार ६ गतेको सदन बहिस्कार गरेपछि ९ गते बोलाइएको थियो । विपक्षीले पुनः बहिस्कार गर्ने भएपछि २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
आइतबार आयव्यय अनुमानमाथिको सामान्य छलफल भए पनि सोमबारबाट आर्थिक वर्ष २०७८–७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा छलफल भएको थियो । मन्त्रालयहरूको विभिन्न शीर्षकमा समष्टिगत छलफलमा छलफलमा भाग लिँदै विपक्षी सांसदहरुले अल्पमतको सरकारले बजेट ल्याएको भन्दै प्रतिक्रिया दिएका थिए ।
त्यस्तै बजेट कार्यकर्तालाई बाँडिएको भन्दै आलोचना समेत भएको थियो । सत्तापक्षका सांसदले भने विकास र समृद्धिलाई लक्षित गरेर बजेट आएको बताएका थिए । मङ्गलवार छलफल सकिएपछि अब बिहीबार प्रदेशका मन्त्रीहरूले बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन् ।
सोही दिन बजेट निर्णयार्थ पेस हुनेछ । सरकारलाई वैधानिकताको प्रश्न उठाएको विपक्षी गठबन्धनले सरकारलाई अध्यादेशबाट बजेट ल्याउन रोक्नका लागि प्रक्रियामा लगेको आङ्कलन गरिएको छ । सरकारले विपक्षी गठबन्धनले उठाए जस्तै गरी सरकारसँग बहुमत नगुमेको जनाएको छ ।
सरकारमा सहभागी जसपाका ३ सहित ४ सांसदको अदालती टुङ्गो र एमालेबाट माओवादी प्रवेश गरेकी सांसद विमला वलीलाई एमालेले कारबाही गर्न पठाएको प्रक्रिया अगाडि नबढ्दासम्म एमालेले कानुनी रुपमा आफ्नो राजनीतिक बहुमत भएको दाबी गर्दै आएको छ । यही कारणले पनि यो विषय दुवै पक्षको लागि पेचिलो बनेको हो ।








प्रतिक्रिया राख्नुहोस्