तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय नमुना युवा संसद् आजदेखि

काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराउन आजदेखि ‘सङ्घीय नमुना युवा संसद्’ सञ्चालन गरेको छ । प्रदेश नमुना युवा संसद्बाट छनोट भएका देशभरिका ८० जना १६ देखि २४ वर्ष उमेर समूहका युवालाई संसदीय प्रणालीबारे जानकारी गराउनका लागि भर्चुअल माध्यमबाट सङ्घीय नमुना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको हो ।


परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकासका लागि नमुना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । प्रदेश स्तरमा सैद्धान्तिक ज्ञान र नमुना प्रदेशसभा सञ्चालन गरिसकेका युवा सङ्घीय युवा संसद्मा सहभागी छन् । 

यसअघि परिषद्ले सात वटै प्रदेशमा ‘प्रदेश नमुना युवा संसद्’ र स्थानीय तहबाट नगर सभा सञ्चालन गरिसकेको छ । उहाँले नेपाल सरकारले जारी गरेको यूथ भिजनअनुसार नै युवालाई नेतृत्व तहमा लैजानका लागि युवा संसद् आयोजना गरिएको बताउनुभयो । 


यसअघि तीन पटक सङ्घीय नमुना युवा संसद् कार्यक्रम सञ्चालन भइसकेको छ । “युवालाई कानुन, संविधान, सभ्यताको ज्ञान र स्वयंसेवकको भाव, अधिकार कर्तव्य र दायित्व बोध गराउन सकिएन भने मुलुक समृद्धितर्फ लैजान सकिँदैन”, उहाँले भन्नुभयो, “संविधानले सरकार कसरी सञ्चालन गर्दछ भन्ने कुरा सिकाउनका लागि नमुना संसद्बाट युवाले सिक्नेछन् ।”

उहाँले लोकतन्त्र स्थायी राज्य व्यवस्था भएको र लोकतन्त्रको संस्कृतिबारे युवालाई ज्ञान दिई अब्बल तथा योग्य नागरिक बनाउन संसदीय अभ्यास आवश्यक रहेको बताउनुभयो । युवालाई मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनबारे सुसूचित गराएर संसदीय अभ्यासमा सरकार गठन, विश्वासको मत, व्यवस्थापिका संसद् सञ्चालन गर्नेछन् ।  


तीन दिनसम्म सञ्चालन हुने नमुना संसद्मा सहभागी भएका युवा प्रधानमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, सचेतक, प्रमुख सचेतक, संसदीय दलका नेता र सांसद चयन हुनेछन् । यसरी चयन गरिएका युवाले मङ्लबारदेखि सङ्घीय व्यवस्थापिका संसद् सञ्चालनको अभ्यास गर्नेछन् । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था तथा संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमुना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button