तपाईँ सुन्दै हुनुहुन्छः

बाढी र डुबानका कारण मारमा परेका किसानलाई राहतका कार्यक्रम ल्याउन माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढी र डुबानका कारण किसानहरू मारमा परेकाले उनीहरूलाई राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभएको छ । 

सांसदहरुले देशका विभिन्न भागमा राजमार्गका धेरै पुल पुलेसा बाढीको उच्च जोखिममा रहेकाले त्यसलाई समयमा नै सुरक्षित तुल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा सत्ता पक्षीय दलका सांसदहरुले राष्ट्र र जनताको पक्षमा राम्रो काम गरेको देखेर अतालिएर प्रमुख प्रतिपक्ष लगायतका दलले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध घेराबन्दी गरेको आरोप लगाउनुभयो ।

प्रतिपक्षी लगायतका अन्य दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्रका लागि भएका आन्दोलनका सहयात्रीसँग सहमति र सहकार्य नगरी बहुमतको दम्भका आधारमा अघि बढ्न गरेको प्रयासले राजनीतिक अस्थिरता निम्तिएको आरोप लगाउनुभयो ।

उहाँहरूले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले ६३ वर्षको जीवनमा निजी क्षेत्रको भन्दा सस्तो मूल्यमा दुर्गम क्षेत्रमा सेवा दिइरहेकामा हचुवाको भरमा निगमको हित विपरीत प्रबन्ध पत्र जारी गरिएको भन्दै आलोचना गर्नुभयो ।

बैठकमा सांसदहरुले कोभिड–१९ सङ्क्रमणबाट हालसम्म ९ हजार ३०० को ज्यान गएको तथा देशका विभिन्न भागमा भएको भारी वर्षबाट ठुलो जनधनको क्षतिकाले पीडित परिवारलाई राहत र  पुनस्थापना सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीलेको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७७” पेस गर्नुभयो ।  

यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको तर्फबाट सांसद देवेन्द्र दाहालले “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन” सभा समक्ष पेस गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउसो ३ः०० बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button