मेथिनकोट अस्पताललाई उज्ज्वल स्मृति प्रतिष्ठानको सहयोग

काभ्रे। काभ्रेको प्रदेश स्तरीय हस्पिटल मेथिनकोटलाई उज्ज्वल स्मृति प्रतिष्ठान, नमोबुद्ध–२ ले स्वास्थ्य सामग्री दुई थान अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री नमोबुद्ध नगरपालिकामार्फत सोमबार बिहान एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।
प्रतिष्ठानकी अध्यक्ष सावित्री तिमल्सिनाले नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी थिइन् । नगर प्रमुख तिमल्सिनाले प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलमार्फत मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनाललाई ती सामग्री हस्तान्तरण हुन् ।
अस्पताललाई सहयोग गरिएका स्वास्थ्य सामग्रीहरु नमोबुद्ध घर भई हाल आयरल्याण्डमा बस्दै आएका क्षितिज तिमल्सिनाले उपलब्ध गराएका थिए । कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोभिड–१९ को महामारीको समयमा अस्पतालका लागि अत्यावश्यक सामग्री सहयोग गरेकोमा प्रतिष्ठानप्रति आभार प्रकट गर्नुभयो । उहाले मेथिनकोट अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । यस्तै मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनालले कोभिड १९ महामारी रोकथाम र नियन्त्रणमा लागिरहेको अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा प्रतिष्ठानको प्रशंसा गर्दै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा थप सहयोग र सहकार्यको अपेक्षा गरेको बताउनुभयो ।

दुर्घटनामा निधन भएका उज्ज्वल तिमल्सिनाको स्मृतिमा गठन गरिएको उज्ज्वल स्मृति प्रतिष्ठानले विद्यार्थीका लागि छात्रवृत्ति प्रदान, स्वास्थ्य शिविर सञ्चालन लगायतका विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । प्रतिष्ठानले विशेषज्ञ चिकित्सकहरूको टोलीसहित मेथिनकोट अस्पतालमा गम्भीर प्रकारका रोगहरूको परिक्षण र उपचारका लागि शिविर सञ्चालनको योजना बनाएको प्रतिष्ठानका उपाध्यक्ष बद्रीप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा गुर्जोका बिरुवा पनि वितरण गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सचिव नारायणप्रसाद शर्मा, कोषाध्यक्ष चन्द्रमणि तिमल्सिनासहितका पदाधिकारीहरू, नमोबुद्ध ४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्ले, मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सागर जर्घामगर, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठ, समाजसेवी बासुदेव काफ्ले, जनकल्याण माविका प्रअ लक्ष्मी अधिकारीलगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्