सिल्टेसन ड्याम बाढीले बगाएपछि ठेकेदारविरुद्ध कानुनी उपचार खोज्दै पोखरा महानगर

पोखरा ।फेवातालको सिरानमा बनाइएका ४ वटा ड्याम मध्ये साढे सात करोडको लागतमा हर्पन खोलामा बनाइएको सिल्टेसन ड्याम भारी वर्षाले बगाएपछि महानगरले ठेकेदार कम्पनी विरुद्ध कानुनी उपचार खोज्ने भएको छ ।
हर्पन खोलामा आएको बाढीले भत्काएको सिल्टेसन ड्यामको डिजाइनकर्ता र निर्माण व्यवसायीलाई पोखरा महानगरपालिकाले स्पष्टीकरण सोधेको छ । उक्त ड्यामको डिजाइन के, कुन आधारमा गरिएको हो र डिजाइनमा भएको त्रुटिको कारणले यस्तो घटना भएको हो वा होइन भनी सो ड्यामको डिजाइन तयार गर्ने परामर्शदातालाई महानगरपालिकाले स्पष्टीकरण सोधेको हो ।
ड्याममा अघिल्लो वर्षातमा भएको क्षति पश्चात् गरिएको मर्मत सम्भारको विषयमा समेत महानगरले प्रश्न उठाइ उक्त निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीलाई पुनः मर्मत सम्भार गर्न पत्राचार गरिएको भन्दै विज्ञप्तिमा डिजाइनकर्ता तथा निर्माण व्यवसायीकोतर्फबाट कुनै जवाफ प्राप्त नभएकाले महानगरपालिकाले ताकेता गरेको महानगरपालिकाले जनाएको छ ।वर्षाका कारण गम्भीर क्षति पुगेको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका टिका टिप्पणीप्रति पोखरा महानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको भन्दै आइतबार विज्ञप्ति जारी गरेको छ ।

फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले ५ वटा खोलामा निर्माण गरिएका सिल्टेसन ड्यामहरुमध्ये हपर्न खोलामा बनाइएको ड्याममा क्षति पुगेको हो । अन्य खोलामामा निमार्ण गरिएका ड्याम पनि निमार्णको समयमा राम्रो सामाग्री प्रयोग नगरिएको गुनासो गर्दै आइरहेका थिए । ड्याम निमर्णको विषयमा आएका प्रतिक्रियामा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
निमार्ण भएका ड्यामको गुणस्तर तथा निर्माणको क्रममा तयार गरिएको डिजाइनको विषयमा केन्द्रित भई प्रतिक्रिया आएको पाइएको छ,’ नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोजनाको त्रुटि सच्याउने अवधि तथा बिमा लगायत विषयमा महानगरपालिका थप स्पष्ट हुने प्रयास गरेको छ ।’ नेपालीले जारी गरेको विज्ञप्तिमा सम्बन्धित पक्षहरूले कानुनी दायित्वबाट कुनै उन्मुक्ति नपाउने तथा कार्यालयले कानुनी रुपमा आफ्नो हित रक्षाका लागि चाल्नुपर्ने सम्पूर्ण कदमहरू चाल्ने र उक्त प्रकरणलाई सार्वजनिक खरिद सम्बन्धी विद्यमान नेपाल कानुन बमोजिम निष्कर्षमा पुर्याउने उल्लेख गरिएको छ ।
सोही चरणमा निर्माण गरिएका अन्य तीन वटा ड्याम यस महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन बमोजिम मर्मत सुधार तथा पुनर्निर्माणको लागि अर्को कम्पनी फेवा सिल्टेसन प्रालिसँग हालै सम्झौता भई संरक्षणको कार्य आरम्भ भएको जानकारी गराउँदै उक्त सम्झौता बमोजिम सो प्रालिसँग वार्ता गरी स्थानीयबासीहरुले उठाएका विषयहरू तथा हाल ड्याममा पुगेको क्षति लगायत उत्पन्न परिस्थितिको समाधान निकालिने विज्ञप्ति मार्फत महानगरपालिकाले बताएको छ ।









प्रतिक्रिया राख्नुहोस्