तपाईँ सुन्दै हुनुहुन्छः

घर पाएपछि सल्यानका अति विपन्न समुदायको मुहारमा छायो खुसी

सल्यान । जनता आवास कार्यक्रमबाट घर पाएपछि सल्यानका अति विपन्न समुदायको मुहारमा खुसी छाएको छ । 

दैनिक ज्याला मजदुरी गर्दा पनि परिवारको छाक टार्न मुस्किल भएका समुदायलाई जनता आवास कार्यक्रमले उनीहरूलाई घर बनाइदिएको हो । 
दलित, विपन्न, सीमान्तकृत र लोपोन्मुख समुदायका लागि सल्यानमा यो वर्ष ५० घर निमार्ण गरिएको छ । 

सडक निर्माणका क्रममा घर भत्किएपछि शारदा नगरपालिका– ६ बरलाका रेशम परियारको परिवार विगत एक वर्षदेखि पशु सेवा कार्यालयले निमार्ण गरेको पशु सङ्कलन केन्द्रमा बस्दै आइरहेको थियो । 

सार्वजनिक स्थलमा एक वर्ष कटाएको दिन सम्झँदै उहाँले आज आफ्नै घर पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजमार्ग चौडा बनाउने क्रममा घर भत्किएर घरबार विहीन भएपछि एक वर्षदेखि पशु सङ्कलन केन्द्रमा बस्दै आइरहेका थियाँै तर आज आफ्नो घर पाउँदा निकै खुसी लागेको छ ।” 

आफ्नै पक्की घर बनेपछि गर्मी, वर्षात र हावाहुरी चलेका बेला पनि ढुक्कसँग बस्न र रात कटाउन कटाउन सहज हुने उहाँको भनाई छ । 

आर्थिक स्थिति कमजोर हुँदा घर बनाउन नसकेका छत्रेश्वरी गाउँपालिका – ६ लान्तीकी गोरी वादीले पनि घर पाउँदा निकै खुसी लागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफ्नो कमाइले साँझ बिहानको चुलो बाल्नै मुस्किल थियो, सरकारले घर बनाइदिएपछि सन्तानको सुखका दिन आएको अनुभूति भएको छ ।”

जिल्लामा चालु आर्थिक वर्षमा अति गरिब, विपन्न, दलित, सीमान्तकृत समुदायका लागि ५० घर निमार्ण गरिएको पूर्वाधार कार्यालय सल्यानले जनाएको छ । 

१ करोड ७५ लाखको लागतमा विपन्नका लागि घर निमार्ण गरिएको कार्यालय प्रमुख इ. विनोद पुनले बताउनुभयो । १० वटै स्थानीय तहमा ५÷५ वटा घर निमार्ण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  “एउटा घर निमार्णका लागि सरकारले ३ लाख ३६ हजार रुपैयाँ उपलब्ध गराएको छ बाँकी व्यक्तिले जनश्रमदान गरी निमार्ण गर्नु पर्ने हुन्छ ।” सबै घर एउटै डिजाइन र मापदण्डका रहेको उहाँको भनाई छ । 

दुई कोठे घर भूकम्प प्रतिरोधी र शौचालयको सुविधा सहितका रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button