तपाईँ सुन्दै हुनुहुन्छः

हर्पन खोलाको ड्याम बाढीले बगायो, १५ घर जोखिममा

पोखरा । गए राति देखिको अविरल वर्षाका कारण फेवातालको मुहान हर्पन खोलामा बाढी आउँदा दर्जनौँ घरहरू जोखिममा परेका छन् । 

पोखरा महानगरपालिका–२३ डुडेको फाँटमा निर्माण भएको हर्पन खोला सिल्टेसन ड्याम गए रातिको वर्षाका कारण बाढी आउँदा भत्किएको छ । 

फेवातालको मुख्य स्रोत हर्पन खोलामा निर्मित सिल्टेसन ड्याम बाढीले बगाएको स्थानीय चेतबहादुर क्षेत्रीले जानकारी दिनुभयो । निर्माण भएको दुई वर्ष नपुग्दै ड्यामको जगदेखि नै बगाएको उहाँले बताउनुभयो ।  

हर्पन खोलामा आएको बाढीका कारण चनौटदेखि ठुलोखेततर्फ आउँदा करिब १५ घर जोखिममा परेका छन् । गत वर्ष पनि खहरे खोलामा निर्माण भएको सिल्टेसन ड्याममा बाढीका कारण केही क्षति पुगेको थियो ।

फेवातालमा बर्सेनि आउने माटो तथा गेग्रानहरुले ताल पुरिँदै गएपछि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा फेवातालको मुहान हर्पन, लौरुक ,खहरे र वेत्यानी खोलामा सेलिटेसन ड्याम निमार्ण गरेको थियो । 

फेवातालको सबैभन्दा माथिल्लो सिरान क्षेत्र पोखरा महानगरपालिका–२३ हर्पन खोलामा निर्मित ‘सिल्टेसन ड्याम’ ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैयाँ लागतमा निमार्ण भएको थियो । 

तालको सिरान क्षेत्रमा सिल्ट पोखरी र ड्याम निर्माण भएसँगै फेवाताल पुरिनबाट जोगिने विश्वास गरिएको थियो ।  फेवातालको सिरान क्षेत्रका खोलाहरूबाट बगेर आउने ढुङ्गा, गिटी, माटो, बालुवा लगायतका ग्रेगर बगेर फेवातालमा मिसिदा बर्सेनि फेवातालको गहिराई घट्दै गएको थियो भने फेवाताल पुरिदा त्यसको आकार पनि घट्दै गएको तथ्यहरूले देखाउँदै आएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button