अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन भत्ता वितरण सुरु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ग र घ वर्गको अपाङ्गता परिचय पत्र भएका व्यक्तिलाई प्रोत्साहन भत्ता वितरण कार्यक्रम सुरु गरेको छ ।
सहायक सामाग्रीको सहयोगमा हिँडडुल गर्न सक्ने अपाङ्गता भएका व्यक्तिलाई उपमहानगरले नगरकै स्रोतबाट प्रोत्साहन भत्ता वितरण गर्न सुरु गरेको हो ।
उपमहानगरपालिकाले शारीरिक अवस्था हेरी अपाङ्गता भएका व्यक्तिलाई क, ख, ग र घ गरी चार वर्गमा छुट्याएको छ ।
क र ख वर्गमा अति अपाङ्गता भएका व्यक्ति पर्दछन् । क र ख वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिलाई नेपाल सरकारले भत्ता उपलब्ध गराउँदै आएको छ ।
क वर्गले चार हजार र ख वर्गका व्यक्तिले दुई हजार ६ सय भत्ता पाउँदै आएका छन् । तर अपाङ्गता भए पनि पहिलो र दोस्रो वर्गमा नपरेका ग र घ वर्गका व्यक्तिलाई उपमहानगरले भत्ता दिन थालेको हो ।
उपमहानगरभित्र ८७ जनाले ग वर्ग र २४ जनाले घ वर्गको अपाङ्गता परिचय पत्र लिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत सीमा यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपमहानगरले ग वर्गका व्यक्तिलाई सात सय र घ वर्गका व्यक्तिलाई पाँच सयका दरले मासिक भत्ता उपलब्ध गराउनेछ ।
भत्ता वितरणका लागि जीतपुरस्थित कुमारी बैङ्कले सहजीकरण गर्ने भएको छ ।
उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती चौधरीले कुमारी बैङ्कका शाखा प्रबन्धक कृष्ण पौडेललाई भत्ता वितरणका लागि चेक हस्तान्तरण गर्नुभएको छ ।
चेक हस्तान्तरण गर्दै उपप्रमुख चौधरीले अपाङ्गता भएका व्यक्तिलाई सहज ढङ्गबाट सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । अपाङ्गता भएका व्यक्तिको मनोबल उच्च राख्न प्रोत्साहन स्वरूप भत्ता उपलब्ध गराउन थालेको उहाँले बताउनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले सामान्य अपाङ्गता भएका व्यक्तिलाई सिप दिएर आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले सहायक सामाग्रीको सहयोगमा हिड्डुल गर्न सक्ने अपाङ्गता भएका व्यक्तिले सिप सिकेर आफ्नो दैनिकीलाई व्यवस्थापन गर्न र व्यावसायिकतामा अघि बढाउन सक्ने बताउनुभयो ।
नेपाल अपाङ्ग सङ्घ बाराका अध्यक्ष तथा नगर स्तरीय अपाङ्गता समन्वय समितिका सदस्य धनप्रसाद बजगाईँले अपाङ्गता भएका व्यक्तिको मागलाई सम्बोधन गरेकोमा उपमहानगरपालिकाप्रति खुसी व्यक्त गर्नुभयो । आफ्नै स्रोतबाट प्रोत्साहन स्वरूप भत्ता उपलब्ध गराउने पहिलो पालिकाको रुपमा जीतपुरसिमरालाई आफूले पाएको बजगाईँको भनाई थियो ।








प्रतिक्रिया राख्नुहोस्