लघु जलविद्युत आयोजना बन्द हुँदा १४ वर्षदेखि अन्धकारमा डाँडीगडे गाउँ

अछाम । लघु जलविद्युत आयोजना बन्द भएपछि अछाम सदरमुकाम मङ्गलसेनकै एउटा गाउँ १४ वर्षदेखि अन्धकार भएको छ ।
२०५८ सालमै झिलिमिली बिजुली चम्किने मङ्गलसेन नगरपालिका वडा नम्बर १३ बस्तीको डाँडीगडे गाउँ आयोजना बन्द भएपछि १४ वर्षदेखि अन्धकारमा छ ।
ग्रामीण ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा चाइराखोला लघु जलविद्युत् आयोजनामार्फत निर्माण भएको १२ किलोवाट क्षमताको विद्युत्बाट डाँडीगडे गाउँका २ सय घरधुरीले ८ वर्षसम्म बिजुली बत्तीको सेवा लिएका थिए । तर, २०६४ मा विद्युत्को पावर हाउसमा रहेको मेसिनमा सामान्य खराबी आउँदा अवरुद्ध बनेको विद्युत् सेवा अहिलेसम्म सुरु हुन सकेको छैन ।
‘२०६४ मा अवरुद्ध बनेको विद्युत् सेवालाई सञ्चालनमा ल्याउन अहिलेसम्म कसैले चासो दिएका छैनन् । विद्युत्का लागि कुनै विकल्प पनि छैन’, स्थानीय भवानीप्रसाद ढुङ्गानाले भन्नुभयो । ग्रामीण ऊर्जा विकास परियोजनामार्फत १२ लाख अनुदान र ७ लाख रुपैयाँको जनश्रमदानबाट बनेको उक्त विद्युत्को पावर हाउसमा रहेको मुख्य मेसिनमा २०६४ मा सामान्य खराबी आएको थियो ।
मेसिन मर्मतका लागि अपरेटर नपाउँदा तत्कालीन अवस्थामा मर्मत गर्न नसक्दा अहिले आयोजना ध्वस्त भइसकेको स्थानीय हिक्मत बोगटीले बताउनुभयो ।
अब उक्त योजना मर्मतभन्दा पनि आयोजनालाई नयाँ तरिकाले निर्माण गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।
साँफेबगरसम्म मात्रै सडक पुगेका बेला डाँडीगडेका नागरिकले सिमेन्टदेखि मेसिन र विद्युत्का लागि आवश्यक पर्ने अन्य सबै पार्टपुर्जा श्रमदानमा बोकेर ल्याएको स्थानीय रामबहादुर मिजारले स्मरण गर्नुभयो। उहाँले भन्नुभयो,“आयोजना सामान्य मर्मत समेत हुन नसक्दा गाउँ नै अन्धकार भयो ।” अहिले गाउँलेले श्रमदानमै गाडेका सालका पोल भाँचिएका र विद्युत् तार पनि चुँडिएको अवस्थामा छन् । विद्युत् अभावका कारण स्थानीय बालबालिकालाई पढ्न, मिल सञ्चालन लगायतमा अप्ठेरो पर्दै आएको छ ।
बेला बेलामा उक्त विद्युत् आयोजना मर्मत स्टिमेट तयार पारिए पनि कुनै निकायबाट पहल हुन नसकेको शिशु कल्याण आधारभूत विद्यालयका शिक्षक मीनबहादुर बोगटीले जानकारी दिनुभयो ।
ऊर्जाले त्यति बेला विद्युत् बाले पनि त्यसपछि चासो नदिँदा आयोजना लथालिङ्ग भएको मङ्गलसेन नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष प्रेमबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार उक्त आयोजनाका पार्टपुर्जा खिया लागेर काम नलाग्ने भइसकेका छन् । राष्ट्रिय प्रसारण लाइनका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
“उक्त गाउँमा बिजुली बत्तीका लागि टेन्डर भइसकेको छ । आउँदो भदौबाट काम सुरु हुनेछ”, वडाध्यक्ष थापाले भन्नुभयो, “आवश्यक पर्ने ७८ वटा पोलको ठेक्का भइसकेको छ ।”
मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले उक्त गाउँका लागि विद्युतीय गर्न ठेक्का भइसकेको र अब काम अघि बढ्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्