तपाईँ सुन्दै हुनुहुन्छः

बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट

गोरखा। गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङ्कन कार्यविधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङ्कनमा सो गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएको हो ।

कार्यविधिमा समावेश गरिएका १० सूचक र १०० उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६.७५ प्रतिशत अङ्क प्राप्त गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । त्यस्तै कार्यविधिको मापदण्डअनुसार संस्थागत क्षमताको स्वमूल्याङ्कनमा भीमसेन थापा गाउँपालिका सबैभन्दा पछाडि परेको छ । सो गाउँपालिकाले ३३.५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

संस्थागत क्षमताको स्वमूल्याङ्कनको आधारमा जिल्लाको अजिरकोट गाउँपालिका दोस्रो र शहिद लखन गाउँपालिका तेस्रो गाउँपालिका बनेको छ । अजिरकोटले ६५.५ प्रतिशत र शहिद लखनले ६०.२५ अङ्क ल्याएका छन् ।
कार्यविधिअनुसार गाउँपालिका र नगरपालिकाका सबल र दुर्बल पक्षहरूको पहिचान र समीक्षा गर्ने गरिन्छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी स्वयंले सहभागितामूलक विधिद्वारा आ–आफ्नो स्थानीय तहको कार्यबारे मूल्याङ्कन गर्ने गर्दछन् ।

नगरपालिका र गाउँपालिकाहरूको बिचमा तुलनायोग्य सूचकहरू बनाएर त्यस आधारमा कामको मूल्याङ्कन गर्न कार्यविधिले सघाउने सुलिकोट गाउँपालिका अध्यक्ष भट्टले बताउनुभयो । शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सङ्गठन तथा प्रशासन, सहकार्य र समन्वयको आधारमा स्थानीय तहहरुले नम्बर प्राप्त गर्दछन् । जिल्लाका ११ स्थानीय तहमा आरुघाट गाउँपालिकाले भने भर्खरै मात्र संस्थागत क्षमताको स्वमूल्याङ्कन प्रक्रिया सुरु गरेको जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button