तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत। निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटक पटक अवरुद्ध हुँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन् । यही असारको शुरुमै मनसुन भित्रिएकाले दैनिक जसो सडकमा खसेका पहिराले निर्माण कम्पनी मात्रै नभएर स्थानीयवासी, यात्रुलगायत सबैले सास्ती खेप्नु परिरहेको छ ।

सडकको पर्वत खण्डअन्तर्गत बागलुङ सीमाको मालढुङ्गादेखि कास्कीको सीमा नयाँपुलसम्म असारयता दैनिक जसो अवरोध हुने गरेको छ । दैनिक जसो परेको झरीसँगै खस्ने पहिरो तथा सडक हुँदै बग्ने सानातिना खहरे खोलामा आउने बाढीका कारण सडक दैनिक जसो अवरोध हुने गरेको हो ।

गत मङ्गलवार सोही सडकको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका मुख्य इन्जिनियर नै बेपत्ता हुने गरी उर्लिएको कुश्मा–८ दोबिल्लास्थित सुन्दरेखोलाले सडकको करिब ५० मिटर भागमा क्षति बनाएपछि अहिले एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ । बाढीले बगाएका इन्जिनियर र चालकको अवस्था अझै अज्ञात छ ।

लामा कन्स्ट्रक्सनका निर्देशक पीताम्बर बडूले सर्वसाधारणले दुःख पाउन नपरोस् भनेर यातायात खुलाउन निकै प्रयास भइरहेको बताउनुभयो । लोक मार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका­२ अर्मादी र नयाँ पुलको बिचमा खसेको पहिरो हटाएर सडक सहज बनाउन कम्तीमा चार दिन लाग्ने उहाँको भनाइ छ । पहाड नै खसेर अवरोध गरेपछि अहिले ब्रेकर लगाएर ढुङ्गा फोर्ने काम भइरहेको छ ।

मध्यपहाडी राजमार्गको यो खण्ड धौलागिरिका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलाई गण्डकी प्रदेश तथा देशभरका अरू जिल्लासँग जोड्ने एक मात्र स्थल मार्ग हो । यसको भरपर्दो वैकल्पिक मार्ग छैन । निर्माणाधीन काली गण्डकी कोरिडोर पनि वर्षासँगैका पहिराले क्षतविक्षत हुँदा आवतजावत टुटेको छ । दैनिक जसो घण्टौँ सडक अवरुद्ध भएपछि बिरामी तथा अत्यावश्यक कामका लागि प्रदेश राजधानी तथा अन्यत्र आउजाउ गर्नेहरूले निकै सास्ती भोगिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको बताउनुभयो । ‘‘दैनिक जसो फरक–फरक ठाउँमा पहिरो झरिरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘सम्बन्धित निकायलाई भनेर हामीले सक्दो छिटो खुलाउने प्रयास गरिरहेकै छौँ ।’’ बागलुङ, बेनीलगायतबाट आउजाउ गर्ने साना सवारीलाई भने सहस्रधारा–पाङ–अर्मादी हुँदै वैकल्पिक सडक प्रयोग गर्न लगाइएको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button