मेचीनगरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा खटिनेहरू पुरस्कृत

भद्रपुर, झापा । झापाको मेचीनगर नगरपालिकाले विश्वव्यापी महामारी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिने नगरभित्रका व्यक्ति तथा सङ्घ–संस्थालाई सम्मान गरेको छ ।
नगरपालिकाले आठौँ नगर सभाको समापनको अवसर पारेर शुक्रवार फ्रन्टलाइनमा खटिने विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गर्नुका साथै सङ्घ–संस्थालाई सम्मान गरेको हो ।
सो अवसरमा खेलकुदलगायतका सिर्जनात्मक क्षेत्रमा रहेर नगरको गौरव बढाउन योगदान पुर्याउनेहरुलाई पनि सम्मान गरेको छ ।
कोभिड–१९ संक्रमण नियन्त्रण कार्यदल सचिवालय र आइसोलेसन व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै कार्यदलका संयोजक नवीन बराल र आइसोलेसन व्यवस्थापन समिति संयोजक सन्तोष मेचेलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
नगरपालिकाले कोभिड फोकल पर्सन सविता सापकोटा, ल्याब टेक्निसियन धनकुमार राई, कमला राजवंशी तथा कोभिड आइसोलेसनमा कार्यरत डा। अमृत सापकोटा, डा। रोशन आचार्य, स्वास्थ्यकर्मीहरू सवितादेवी प्रधान, सदिक्षा भट्टराई, प्रगति खतिवडा र रेगन निरौला, एम्बुलेन्स चालक भीमबहादुर खड्का, जङ्गबहादुर खड्का, शव वाहन चालक विक्रम माझी, वडा स्वास्थ्य फोकल पर्सनहरु विक्रम अधिकारी, हरिशचन्द्र देवकोटा, दुर्गा गौतम, तालबहादुर खड्का, धनकुमारी राई, लेखनाथ खतिवडा, गोमा कोइराला, रामप्रसाद अधिकारी, सुष्मा कार्की, सुरजकुमार भट्ट, कल्पना भण्डारी, सिर्जना अधिकारी, हेमन्त शर्मा दाहाल, दिवाकर पौडेल र अमृत कार्कीलाई नगदसहित पुरस्कृत गरेको नगरपालिका सञ्चार संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।
नगरपालिकाले वर्षोउत्कृष्ट कर्मचारीका रुपमा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश बस्तीलाई नगद २५ हजारसहित पुरस्कृत गरेको छ भने कोभिड सङ्क्रमणबाट निधन भएका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेलाई मरणोपरान्त सम्मान गरेको छ ।
मेचीनगर स्थायी बसोबास भई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक दिलाउन सफल व्याडमिन्टनका राष्ट्रिय खेलाडी अमिता गिरी, क्रिकेटकी रुविना क्षेत्री, रोमा थापा, काजल श्रेष्ठ र अप्सरी वेगम, करातेका क्रमशः थापा, अस्मिता मल्लिक, सन्ध्या ठटाल, विक्रम मल्लिक, निश्चल शिवाकोटी र अभिषेक दवाडी, फुटबलका पूजन उपरकोटी र टेनिसतर्फ इरा राउत, प्रनव खनाललाई पुरस्कृत गरेको छ ।
मेचीनगर उपप्रमुख मीना उप्रेतीले आर्थिक वर्ष ०७८/०७९ का लागि असार १० गते प्रस्तुत गर्नुभएको १ अर्ब ५३ करोड ६३ लाख २९ हजार रुपैयाँको बजेट शुक्रबारको नगर सभाले पारित गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्