तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात रोग फैलिएको सप्तरीको महदेवा गाँउमा प्रजिअको अनुगमन

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा अज्ञात रोग फैलिएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले महदेवा गाउँपालिका–२ चकलाको निरीक्षण अनुगमन गर्नुभएको छ ।

प्रजिअ आचार्यको नेतृत्वको जिल्ला प्रशासन कार्यालयको टोलीले चकला गाउँ पुगेर गाउँलेसँग जानकारी लिनुका साथै वस्तुस्थिति अवलोकन गरेको हो ।स्थानीयहरूमा टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएको छ, हालसम्म कुन रोग लागेको हो पत्ता लागेको छैन । रोगकै कारण एक महिलाको मृत्यु भएको छ भने दर्जनौँ मानिसहरू बिरामी परेका छन् । 

टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएको चकला टोलकी ४० वर्षीय सीतादेवी रजकको बिहीबार राति मृत्यु भएको थियो । अपच भई पखाला लागेको हुनसक्ने अनुमान गरिए पनि ज्वरोसमेत आएकाले के कारणले मृत्यु भएको हो भन्ने विषयमा परीक्षण भइरहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले बताउनुभयो । 

अस्पतालमा भर्ना भएकी रजककै परिवारका तीन जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ ।चकला टोलसँगै जोडिएको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाको उत्तर टोलमा पनि यस्तै लक्षणका २१  बिरामी छन् । उनीहरूमा पनि टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने जस्ता समस्या देखिएको छ । तीमध्ये उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका आठ वर्षीय कृष्णकुमार मण्डल, ३० वर्षीया प्रयागीदेवी खंग र ६ वर्षीय पारसकुमार मण्डललाई थप उपचारका लागि धरान रिफर गरिएको अस्पतालले जनाएको छ ।प्रजिअ आचार्यले बिरामीहरूलाई  आवश्यकताअनुसार अस्पताल भर्ना हुन आग्रह गर्नुका साथै तदारुकतासाथ उपचारमा लाग्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभयो  ।

प्रजिअ आचार्यले स्थानीय तहका प्रमुख र वडाध्यक्षहरूलाई पनि सम्भावित समस्यालाई ध्यान दिएर कार्य गर्न आग्रह गर्नुभएको छ । उहाँले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना हुने बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्न मेडिकल सुपरिन्टेन्डेन्टलाई निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button