तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री परियोजना अन्तर्गत धनुषामा ५० प्रतिशत अनुदानमा ट्याक्टर प्रदान

जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई धनुषाले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरेर उत्पादन बढाउने उद्देश्यले पाँच वटा कृषक समूहलाई पाँच वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा आज हस्तान्तरण गरेको छ । 

कूल १२ लाख ८० हजार मूल्य पर्ने सो ट्याक्टर हंशपुर नगरपालिका वडा नंं ४ का राजदेवी कृषक समूह, औरही गाउँपालिकाको वडा नंं १ का कृष्ण किसान समूह, सोही गाउँपालिकाको वडा नंं १ कै श्रवण कृषक समूह, शहिदनगर नगरपालिका वडा नंं ९ गोठ कोयलपुरका रामजानकी कृषक समूहलाई हस्तान्तरण गरिएको छ । 

ट्याक्टर खरिदमा कृषक समूहको ६ लाख ४० तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले त्यति नै रकम अनुदान प्रदान गरेर कृषक समूहलाई ट्याक्टर प्रदान गरिइएको र यसको प्रयोग विशुद्ध रुपमा धानको उत्पादन तथा बजारीकरणमा प्रयोग हुने परियोजनाका धनुषा इकाई प्रमुख युगल किशोर तिवारीले जानकारी दिनु भएको छ ।

कृषक समूहलाई ट्याक्टरको साँचो प्रदेश नंं २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सम्झना कुमारी काफ्ले पाण्डे तथा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले ब्लुबुक कृषक समूहका पदाधिकारीलाई हस्तान्तरण गर्नु भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रमलाई केन्द्रित गरेर प्रदान गरिएको सो ट्याक्टरको प्रयोग कृषि कर्ममा मात्र प्रयोग गर्नका लागि सम्बन्धित समूहलाई धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले आग्रह गर्नुभयो । 

कृषि कर्मका लागि भन्सार छुटमा आएका रातो प्लेटका अधिकांश ट्याक्टरहरु व्यापारी प्रयोगमा देखिएकाले अनुदानमा कृषि कार्यका लागि प्रदान गरिएको ट्याक्टर व्यापारिक प्रयोजनमा प्रयोग भएको पाइएको खण्डमा कारबाही हुने प्रमुख जिल्ला अधिकारी वास्तालेले बताउनुभयो । 

प्रदेश नंं २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सम्झना कुमारी काफ्ले पाण्डेले  अनुदानमा पाएका ट्याक्टरको प्रयोग धान उत्पादनमा प्रयोग हुने विश्वास व्यक्त गर्दै यसले धनुषामा धान उत्पादन बढाउनमा योगदान पुग्ने बताउनुभयो । 

उहाँले चालु आर्थिक वर्षको १० महिनामा मात्र भारत सहितको देश वाट ४२ अर्बको चामल आयात भएको बताउँदै धानको उत्पादन बढाउनका लागि प्रदेश नंं २ का सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो । 

धानजोन सञ्चालक समिति तथा समन्वय समितिका अध्यक्ष दिनेश यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा ट्याक्टर पाएका समूह मध्ये राजदेवी कृषक समूहका अध्यक्ष सुनिल कुमार यादवले यसको प्रयोग सामूहिक रुपमा कृषिमा मात्र प्रयोग हुने विश्वास दिलाउँदै यसले धानको उत्पादन बढाउनमा मद्दत पुग्ने बताउनुभयो । 

कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरेर उत्पादन लागत घटाउने उद्देश्यले परियोजनाले माछा पोखरीमा अक्सिजनको आपूर्तिका लागि एरियटर, खेत जोत्नका लागि रोटाभेटर तथा माटो सम्याउनका लागि लेवरल प्रदान गरिसकेको र अगामी आर्थिक वर्षमा धान रोपाई तथा कटाई गर्ने मेसिन प्रदान गर्ने लक्ष्य लिएको परियोजनाका धनुषा प्रमुख तिवारीले जानकारी दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button