तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय प्रसारण लाइन पुगेपछि कैलासवासी खुसी

बझाङ। साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ बदली हुँदा सोलार नबलेपछि फुफु गर्दै झरो बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ । सुनसान, एकान्त अनकन्टार । न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन्, न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन् । यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको पिमी गाउँ भनेर चिनिने कैलाशका ३५० घुरधुरीमा अहिले केन्द्रीय प्रसारणबाट विद्युतीकरण भएको छ ।

जय पृथ्वी नगरपालिकाको दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन् । नगरपालिका भएको भए पनि वर्षौँदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका वडा नं १ कैलाश गाउँका प्रत्येक घरमा बिजुली बलेपछि उनीहरू खुसी भएका हुन् ।

जय पृथ्वी नगरपालिका–१, कैलाशका रवीन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताउनुभयो । विकले, भन्नुभयो, “गाउँमा बत्ती नभएर मोबाइल चार्ज नहुँदा सम्पर्कविहीन हुनुपर्थ्यो, अब त्यो समस्या हटेको छ । अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ ।”

बल्लतल्ल सडक पु¥याए पनि यहाँ केन्द्रीय प्रसारण लाइन पुग्न सकेको थिएन । नगरपालिकाका अरू वडाहरू र अन्य क्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्ने यहाँका बासिन्दा आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि आफूलाई भाग्यमानी सम्झन्छन् । स्थानीयवासी ६२ वर्षीय केशवबहादुर सिंहले भन्नुभयो, “गाउँमा बिजुली बत्ती आउला र झलमल्ल उज्यालोमा बसौँला भन्ने आशाको त्यान्द्रो बनेको थियो । धेरैले हामीलाई आशा देखाउँथे, बत्ती वर्षौँसम्म आएन, हाम्रै पालामा बिजुली बालौंला भन्ने आशा पनि मर्न लागिसकेको थियो । आज गाउँमा बत्ती पुग्यो, साँच्चै खुसी लागेको छ ।”

प्रसारण लाइन गत वैशाखमै पु¥याएर जेठदेखि बाल्ने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको वडाध्यक्ष गगनबहादुर सिंहले बताउनुभयो । गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button