तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ली महिला सिडिओको योजना : विकास र सुशासनमा शून्य सहनशीलता

पत्रकार सम्मेलनमा बोल्दै प्रजिअ विजया प्रसाई, तस्बिरः सागर परियार

जुम्ला । जुम्लामा ४२ औ प्रमुख जिल्ला अधिकारीका रुपमा आउनु भएकी विजया प्रसाईँले सुशासन र पारदर्शिता, कानुन कार्यान्वयनमा शून्य सहनशीलतालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ । जुम्लामा दोस्रो महिला प्रजिअको रुपमा आउनु भएकी प्रसाईँले जुम्लाको विकास निर्माणमा चुस्तता, भ्रष्टाचारको खबरदारी, सेवा प्रवाहमा प्रभावकारिता लगायतका क्षेत्रमा कुनै आग्रह पूर्वाग्रह नराखी कानुनी शून्य सहनशीलता अपनाएर काम गर्ने दाबी गर्नुभयो । 

बिहीबार प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रजिअ प्रसाईँले भन्नुभयो, “राष्ट्रिय योजना आयोगमा ४ वर्ष, महिला तथा बालबालिका विभागमा ३ वर्ष तथा गृह मन्त्रालयमा करिब १३ महिना र सिन्धुलीको सहायक प्रजिअको अनुभव छ । सबैको सहयोग र साथ लिएर जुम्लाको विकास र सुशासनमा नमुना काम गरेर जाने अठोट छ ।”

महिलाले नेतृत्व गर्न सक्दैनन्, राजनीति प्रभाव र दबाब हुन सक्छ, जिल्लाको विकासमा तपाईँको स्पष्ट योजना के हो ? भन्ने पत्रकारहरुको प्रश्नमा जबाफ दिँदै प्रजिअ विजया प्रसाईँले भन्नुभयो, “पुरुषले गर्न सक्ने महिला नसक्ने भन्ने हुदैन् त्यो मानसिकता हो । जब सम्म हाम्रो चेतना स्तर उठ्दैन तब सम्म विकास सम्भव छैन । हामीले हरेक नागरिकलाई प्रश्न गर्ने बनाउनु छ ।”

म धेरै महत्त्वाकाङ्क्षी योजना भन्न चाहन्न तर कार्यकालमा केही नमुना काम गएर जाने योजनामा छु । वार्षिक कार्ययोजना अनुसार जिल्लाको हरेक गतिविधिलाई अघि बढाइने उहाँको भनाई छ । जुम्लाको भूगोल शिक्षाको स्तर, सबै कुरालाई हस् मात्र भन्ने जमातलाई हेर्दा सबैभन्दा चेतनास्तर वृद्धिमा जोड दिनुपर्ने देखिएको छ । त्यसैले सञ्चारकर्मी तथा स्थानीय तह सँग समन्वय गरी सार्वजनिक चासोका विषयमा आवश्यक पैरवी, वकालत गर्ने कार्यलाई अघि बढाइने छ । 

कानुन भन्दा माथि उठेर काम गर्ने जो सुकैलाई पनि कानुनी दायरामा ल्याइने, राजनीति प्रभाव तथा दबाबमा कुनै हालतमा नपर्ने समेत दाबी गर्नुभयो ।  

विगतका राम्रा कामलाई अनुसरण गर्दै बोल्ने खषभाषा, नागरिक बडापत्र, समुदायमा आधारित प्रशासनको सेवा, विपन्न नागरिक मैत्री प्रशासन बनाउन विशेष कार्ययोजना बनाएर अघि बढिने बताउनु भएको छ । बलात्कार, महिला हिंसा, विकास निर्माणमा ढिलासुस्ती, सुशासन पारदर्शिता कायम, सेवा प्रवाहमा प्रभावकारी गर्न शून्य सहनशीलता अपनाउने समेत बताउनुभयो । 

जघन्य अपराध गर्नेलाई कानुन काबुमा लिनेलाई कुनै हातमा नछोड्ने समेत सङ्कल्प गरेको उल्लेख गर्नुभयो । कर्णाली प्रदेश राजधानीपछिको दोस्रो ठुलो शहर जुम्लामा आर्थिक अनियमितता, विकासमा ढिलासुस्ती धेरै भएको देखिन्छ । यसलाई गति दिन पनि कुनै प्रभावमा नपरी कार्यान्वयन गर्न शून्य सहनशीलता अपनाइने छ । 

पत्रकार सम्मेलनमा पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र शाही, पत्रकार पूर्णप्रसाद चौलागाइ, महेश नेपाली लगायत पत्रकारले महिला भएकै  कारण धेरै काममा बाधा हुन सक्ने गैर मानसिकताले हेर्न सक्ने भन्दै संकिण सोचाइको चिरफार गर्दै नमुना काम गर्न सुझाव दिएका छन् ।
  महिला तथा घरेलु हिंसा न्यूनीकरण, नेपाल टेलिकमको सेवामा सुधार, बजार अनुगमनमा तीव्रता, सुशासन पारदर्शिता कायम,सवारी व्यवस्थापन, सूचना प्रणालीलाई व्यवस्थित बनाउन समेत पत्रकारहरूले प्रजिअको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button