गाउँमै राष्ट्रिय प्रसारण लाइन पुगेपछि कैलाशवासी खुसी, ३ सय ५० घरधुरी उज्यालोमा

बझाङ । साँझमा धिपधिप बल्ने सोलार, कहिलेकाहीँ बर्षाद हुँदा सोलारको पावर नभएर फुफु गर्दै झरो बाल्नु पर्ने, समसाँझै चकम्मन्न बन्ने गाउँ, सुनसान, एकान्त अनकन्टार, न त बालबालिकाहरूले उज्यालोमा पढ्न पाउँछन्, नत आमा दिदिवहिनीले उज्यालोमा घर धन्दा गर्न पाउँछन्, यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको पिमी गाउँ भनेर चिनिने कैलाशका ३ सय ५० घरधुरीमा बिजुली बत्ती बल्न थालेको छ ।
बझाङको जयपृथ्वी नगरपालिकाको दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन् । नगरपालिका भएको भए पनि वर्षौँदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका जयपृथ्वी नगरपालिका १ कैलाश (पिमी) गाउँका नागरिकको घरमा बिजुली बलेपछि उनीहरू खुसी भएका हुन ।
जयपृथ्वी नगरपालिका – १, कैलाशका स्थानीय रवीन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताउनुभयो । विकले, भन्नुभयो, ‘गाउँमा बत्ती नभएर मोबाइल चार्ज नभएर सम्पर्क विहीन हुनुपर्थ्यो अब त्यो समस्या हट्यो । अहिले घर घरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ ।,
बल्लतल्ल सडक पुर्याए पनि यहाँका स्थानीयले बिजुली बत्तीको मुख देख्न पाएका थिएनन् । जयपृथ्वी नगरपालिकाका अरू वडाहरू र अन्य क्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्ने यहाँका स्थानीय आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि औधी खुसी लागेको स्थानीय ६२ वर्षीय केशव बहादुर सिंहले बताउनुभयो । सिंहले भन्नुभयो, ‘गाउँमा बिजुली बत्ती आउला र बिजुली बत्ती बालौला भन्ने आसाको त्यान्द्रो मात्रै थिएन । धेरै ठूला ठूला मान्छेहरू यो गाउँ घुम्न आउँथे , सबैले बिजुली ल्याउन पहल गर्छम भन्थे, हामीलाई आसा देखाउँथे तर बत्ती बर्षौ सम्म आएन, हामीले हाम्रै पालामा बिजुली बालौला भन्ने आसा पनि मर्न लागि सकेको थियो तर आज गाउँमा बत्ती पुग्यो, साँच्चै खुसी लागेको छ ।’
प्रसारण लाइन वैशाखमै पुर्याएर जेठबाट बाल्ने योजना भए पनि पोलहरू गन्टिन र तारहरू तान्दा ढिलाइ भएको जयपृथ्वी नगरपालिका १ का वडा अध्यक्ष गगन बहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रसारण लाइन ल्याउन तथा बिधुत बाल्नको लागि थुप्रै चुनौती र समस्याहरू झेल्नु पर्यो । अब जे होस मेरै कार्यकालमा वडा बासीहरूलाई उज्यालो दिन पाउँदा खुसी लागेको छ ।,
गाँउमा बिजुली पुगेपछि घरमा बिहान बेलुका चुलो चौकाको काम गर्न तथा विद्यार्थीहरूलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न, कम्प्युटर चलाउन सजिलो भएको छ ।








प्रतिक्रिया राख्नुहोस्