रुसमा पछिल्लो २४ घण्टामा करिब २५ हजार सङ्क्रमित

मस्को, रुस । रुसमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्यामा अझै नियन्त्रण आउन नसकेको रुसी सङ्घीय सूचना केन्द्रद्वारा बिहीबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
रुसमा पछिल्लो २४ घण्टामा २४ हजार ८ सय १८ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएसँगै अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ५७ लाख सात हजार ४ सय ५२ पुगेको बताइएको छ ।
केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रुसको कोभिड–१९ प्रभावित ८५ क्षेत्रमा गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या २४ हजार ८ सय १८ पाइएको छ । यी सङ्क्रमितमध्ये दुई हजार ९ सय ५४ अर्थात् ११.९ प्रतिशत सङ्क्रमितमा कुनै पनि लक्षण फेला नपरेको पाइएको छ ।”
केन्द्रका अनुसार सङ्क्रमित दर ०.४४ प्रतिशतले कम भएको छ । बिहीबार मस्कोमा छ हजार ४० व्यक्ति सङ्क्रमित भएका छन् ।
राजधानी मस्कोपछि रुसको बढी घना बस्ती रहेको सेन्ट पिटर्सबर्गमा पछिल्लो २४ घण्टामा एक हजार ९ सय ३७ सङ्क्रमित भेटिएका छन् ।
केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ३४ व्यक्तिको कोभिडका कारण मृत्यु भएको छ । अहिलेसम्म कोभिडका कारण रुसमा एक लाख ४० हजार ७ सय ७५ व्यक्तिको मृत्यु भएको छ ।
उक्त समयमा कोभिड–१९ सङ्क्रमित २१ हजार ३ सय ३६ बिरामी कोरोना भाइरसमुक्त भएका छन् । यससँगै रुसमा कोभिड भई निको हुनेको सङ्ख्या ५१ लाख ४३ हजार २ सय २५ पुगेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्