खानेपानी आएपछि गाउँमा छायो खुसीयाली

सल्यान । गाउँमै खानेपानी आएपछि बनगाड कुपिण्डे नगरपालिका–३ का स्थानीयमा खुसीयाली छाएको छ ।
वषौंदेखि पानीको समस्या झेल्दै आइरहेका मुलखोला, खेतगरा, खानिगाउँ, मेलटाकुरा, कुमटाकुरा र बरापोखराका स्थानीयमा लिफ्ट प्रविधिबाट गाउँमै खानेपानी आएपछि खुसीयाली छाएको हो ।
घरमै खानेपानी आएपछि खुसीको सीमा नरहेको स्थानीय गौरी पुनले बताउनुभयो । गाउँमा यसरी खानेपानी आउँला भन्ने कहिले पनि नसोचेको तर आज आफ्नै आँखा अघि घरमै खानेपानी आएपछि निकै खुसी लागेको उहाँको भनाई छ ।
“यस्तो डाँडोमा पनि कहाँबाट खानेपानी आउला र भन्ने लागेको थियो । हामीसँगै हाम्रा पछिका सन्ततिले पनि पानी बोकेरै दुःख काट्ने भए भन्ने लागेको थियो तर आफ्नै पालामा घरभित्र पानी खान पाइयो ।” उहाँले भन्नुभयो ।
पहिले दैनिक २ देखि ३ घण्टा हिँडेर खानेपानीको लागि जानुपर्ने बाध्यता हटेको स्थानीय इन्द्र पुनले बताउनुभयो । पानीकै लागि रातभर जाग्राम बस्नुपर्ने र पानीकै कारण समाजमा झैँ–झगडा हुने गरेकोमा सबै दुःख र झगडा समेत खानेपानीले अन्त्य गरेको उहाँको भनाई छ ।
“रातभर पानीको लागि जागराम बस्दा सर्प, जङ्गली जनावरको डर हुन्थ्यो, भिरबाट लड्ने उत्तिकै डर थियो तर गाउँमा खानेपानी आएपछि निकै सहज भएको छ ।” उहाँले भन्नुभयो ।
संसद् विकास कोषको ५० लाख, कर्णाली प्रदेश सरकारको ५० लाख र बनगाड कुपिण्डे नगरपालिकाको २ करोड ७४ लाख गरी ३ करोड ७४ लाखको लागतमा लिफ्ट खानेपानी योजना सम्पन्न भएको मेयर गोविन्द पुनले बताउनुभयो ।
लिफ्ट योजनाबाट खेतगारा, मेलटाकुरा, किमटाकुरा, खानिगाउँ बरापोखराका १ सय ७६ घरधुरीका झन्डै १ हजार २ सय नागरिक प्रत्यक्ष लाभान्वित भएको उहाँले बताउनुभयो ।
गाउँबाट ४ सय २ मिटर टाढाबाट गाउँमा खानेपानी योजना सञ्चालन गरिएको इन्जिनियर महेश देवकोटाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्