तपाईँ सुन्दै हुनुहुन्छः

कमला पुल भासिएपछि कामदार तथा स्थानीयवासी निराश

जनकपुरधाम । धनुषा –सिराहा जिल्ला जोड्ने हुलाकी सडक अन्तर्गतको कमला नदिमा निर्माण भएको पुल गत साताको बाढीले भासिएर क्षतिग्रस्त भएपछि पुल निर्माणमा खटिएका कामदार तथा स्थानीयबासीहरु निराश बनेका छन् ।

पुलको निर्माण अन्तिम चरणमा पुगेर उद्घाटन हुने बेलामा पुल भासिएर क्षतिग्रस्त भएपछि पुलको निर्माणमा दिनरात मेहनत गरेका कामदारहरू निराश बनेका हुन् ।

कामदारहरूले पुलको माथिबाट ५ इन्च ढलान गर्नका लागि ओछ्याएको रड हटाउन थालेका छन् ।

कामदारहरूले के गर्ने यत्रो पुल कमला नदीले क्षतिग्रस्त गरेकाले अब के गर्ने आदेश नआएसम्म रड किन रहन दिने, रडमा खिया लाग्छ भन्दै पुलमाथि ढलान गर्नका लागि ओछ्याएका रड हटाइरहेको कामदार सुखल थारुले बताउनुभयो ।

पुल सञ्चालनको अन्तिम तयारीमा भएको बेलामा कमला नदी माथिको पुल चढेर नदी पार गर्ने वर्षौँ पुराना रहर पुरा हुन सक्ने अवस्था नरहेको कमला नगरपालिका वडा नंं ४ का सुखल मुखियाले गुनासो गर्नुभयो । उहाँले यसमा दोषी भएकाहरूमाथि कारबाही हुनु पर्ने बताउनुभयो ।

पुलको डिजाइनमा नै भएको त्रुटिका कारणले पुल भासिएको सो क्षेत्रका नेता समेत रहनु भएका नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झाले बताउनुभयो ।

नेता झाले सुरुदेखि नै पुलको विषयमा ध्यानाकर्षण गर्दै आउनु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले अनुगमनको समयमा जानकारी दिनुभयो ।

कमला नदीमा पुल निर्माण भएकोमा निक्कै खुसी भएर सो क्षेत्रमा नै चटपटेको व्यापार गर्दै आएकी बेचनी देवी रामले पुल भासिएसँगै आफ्नो व्यापार वृद्धि हुने चाहना पुरा नहुने बताउनुभयो ।

विगतमा ढुङ्गाबाट मान्छेहरू आवतजावत गर्ने गरेकोमा अहिले नदीमा बाढी आएका कारणले स्थानीय प्रशासनले ढुङ्गा सञ्चालनमा रोक लगाएपछि दैनिक व्यापारमा पनि कमी आएको बताउनुहुँदै भासिएको पुलको पुनः निर्माणका लागि सरकारसँग माग गर्नुभयो ।

प्रदेश नंं २ को राजधानी जनकपुरधामबाट सिराहा सदरमुकाम पुग्नका लागि ३२ किलो मिटरको दूरी मात्र रहेकोमा अहिले सर्वसाधारणहरू पूर्व पश्चिम राजमार्ग भएर सदरमुकाम सिराहा जानका लागि विवश भएको सिराहा जिल्ला अस्पतालमा कार्यरत रहेका जनकपुरधाम वडा नंं ८ मा डेरा गरी बस्ने स्वास्थ्यकर्मी कामेश्वर यादवले बताउनुभयो । अहिले दैनिक रुपमा ८५ किलोमिटरको दूरी तय गर्नका लागि बाध्य भएको उहाँको भनाई छ ।

विगत १० वर्षदेखि पप्पु लुम्बिनी जेभिले पुलको निर्माणको काम गर्दै आएको थियो । ४४ करोड ४८ लाखको लागतमा ठेक्का सम्झौता भएको उक्त पुलको कूल लम्बाई साढे चार सय मिटर रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button