झापाका चर्चित उद्योगपति अग्रवालको कोरोनाबाट निधन

भद्रपुर, झापा । झापाका चर्चित उद्योगपति तथा समाजसेवी पर्शुराम अग्रवालको कोरोना सङ्क्रमणबाट निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति अग्रवालको ६२ वर्षको उमेरमा भारतको सिलगुडीस्थित महाराजा नर्सिङ होममा उपचारका क्रममा हिजो बुधवार राति भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनले मेची अस्पताल भद्रपुरमा कोरोनाको पीसीआर परीक्षण गराउनुभएका उहाँमा जेठ ३१ गते संक्रमण पुष्टि भएको थियो भने केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते सिलिगुडी लगिएको थियो । बुधवार दिउँसो स्वास्थ्य थप जटिल बनेपछि भेन्टिलेटर राखेको केही घण्टामै उहाँको मृत्यु भएको आधिकारिक जानकारी चिकित्सकले परिवारजनलाई गराएका थिए ।
विसं. २०१६ सालमा जन्मनुभएका अग्रवालले जिल्लामा सिमेन्ट, चाउचाउ, फर्निचर, निज विद्यालयलगायतका ठुला उद्योग सञ्चालन गरी हजारौँलाई रोजगारी दिनुभएको थियो ।
झापा उद्योग वाणिज्य सङ्घमा दुई कार्यकाल अध्यक्ष पदमा रहेर व्यावसायिक हकहितका लागि भूमिका निर्वाह गर्नुभएका उहाँको लगानीमा भद्रपुरमा मनषा सिमेन्ट उद्योग, मेचीनगरको दुहागढीमा मगमग तयारी चाउचाउ उद्योग सञ्चालनमा छन् भने सामाजिक तथा धार्मिक सेवाकार्यमा उहाँको योगदान उच्च रहेको झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले बताउनुभयो ।
आज बिहान स्थानीय मेची नदीमा नेपाल स्काउटको कोभिड रेस्पोन्स टिमले उहाँको दाहसंस्कार गरेको छ । उहाँको सम्मानमा आज भद्रपुर बजार बन्द गरियो । साथै, सङ्घले शोक वक्तव्य जारी गर्दै सङ्घको सचिवालय पनि बन्द राखेको छ ।








प्रतिक्रिया राख्नुहोस्