तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व छली ल्याएको ४२ लाख बराबरको सामान नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले अवैध रुपमा राजस्व छली भित्र्याइएको ४२ लाखको खुद्रा सामान, केराउ र स्याउ लोड गरिएको २ वटा ट्याक्टर र एउटा ट्रक नियन्त्रणमा लिएको छ । 

प्रदेश २ प्रहरी कार्यालय, जनकपुर, जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले गए राति ना. १ त. ७०४५ र ना.४ त.८५६२ नं. को ट्याक्टर नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १९ मा वीरगञ्जबाट बहुअरी गाउँतर्फ जाँदै गरेका ४ हजार केजी स्याउ र ६ हजार केजी केराउ लोड गरिएको ट्याक्टर गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

बरामद गरिएको सामानको कुनै बिलबिजक नरहेको र उक्त मालसामानहरू भारततर्फ अवैध रूपमा निकासी गरी लाँदै गरेको खुल्न आएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

नियन्त्रणमा लिइएको स्याउ, केराउ र सवारीसाधनको २२ लाख ६० हजार रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा पठाइएको डिएसपी खनालले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बाट बहुअरी गाउँतर्फ जाँदै गरेका २ वटा ट्याक्टरलाई रोकेर चेकजाँच गर्ने क्रममा दुवै ट्याक्टरका चालकहरू फरार भएको प्रहरीले जनाएको छ ।

यस्तै, वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ घण्टाघरमा खुद्रा सामान बोकी वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना २ ख ८६१७ नम्बर को ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भन्सार छलेर अवैध रूपमा मालसामानहरू ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा गए राति नै ट्रक नियन्त्रणमा लिइएको डिएसपी खनालले बताउनुभयो । 

ट्रक रोकी चेकजाँच गर्ने क्रममा चालक फरार भएकोले खनालले बताउनुभयो । ट्रकमा भएका मालसामान तथा ट्रकको अन्दाजी मूल्य २० लाख रुपैयाँ मूल्याङ्कन गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button