तपाईँ सुन्दै हुनुहुन्छः

बढी भाडा लिने सवारीसाधन कारवाहीमा

डोटी। तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिई बढी भाडा लिने चार जिप तथा तीन हाईस गरी सात वटा सवारीसाधनलाई आज कारबाही गरिएको छ । कारवाहीमा परेका सवारीसाधनबाट रु ६ हजार ५०० जरिवाना समेत लिइएको छ । जिल्लामा सञ्चालन भइरहेका सवारीसाधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि यहाँको स्थानीय प्रशासनले छड्के अनुगमन सुरु गरेको छ ।

दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ को महामारीका बेला यात्रु ठगिन थालेपछि छड्के अनुगमन सुरु गरी सवारीसाधन जाँच गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको मौका छोपी यातायात सञ्चालकले यात्रु ठग्ने गरेको उजुरी आएपछि हामीले अनुगमन सुरु गरेका छौँ, यात्रु ठग्नेलाई जरिवानासमेत तिराउन थालेका छौँ ।”

जिल्लामा कोरोना निषेधाज्ञा उलङ्घन गर्ने चार र यात्रुलाई टिकट नदिई बढी भाडा लिने तीन सवारीसाधन कारवाहीमा परेका हुन् । यसै गरी डोटीबाट धनगढीका लागि छुट्ने केही सवारीसाधनले तोकिएको प्रति व्यक्ति भाडा दर रु ५५० भन्दा बढी रु एक हजारसम्म भाडा लिँदै आएको गुनासो बढेको छ ।

पहिलो पटक बढी भाडा लिने सवारीसाधनलाई सामान्य जरिवाना तिराइ बढी लिएको यात्रुको भाडा फिर्ता गर्न लगाइएको र पुनः दोहरिए कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button