सल्यानका किसान लसुन खेतीबाट राम्रो आम्दानी लिँदै

सल्यान। सल्यानका किसानहरू लसुन खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमै लसुनबाट राम्रो आम्दानी हुने भएकाले किसानहरू लसुन खेतीतर्फ किसान आकर्षित भएका हुन ।
चिसो हावापानीमा पनि फस्टाउने र तुसारो पनि सहन सक्ने भएकाले लसुन खेती राम्रो भएको बनगाड कुपिण्डे नगरपालिका –३ च्युरीगैराका बिरबल पुनले बताउनुभयो । लसुनलाई ओसिलो हावापानी आवश्यक पर्ने भएकाले यसको खेतीका लागि आवश्यक सिँचाइको व्यवस्था गर्न सकेन उत्पादन अझै बढ्ने उहाको भनाई छ । यो वर्ष मात्रै पाँच क्विन्टल लसुन बिक्री गरेको उहाको भनाई छ । उहाले भनुभयो ‘च्युरीगैराका २६ घरधुरीलेनै लसुन खेती गर्दै आइरहेका छौँ । यो वर्ष मेरो ५ क्विन्टल जति उत्पादन भएको थियो ।’
१० हजार रुपैयाँ क्विन्टलका दरले घरबाटै लसुन बिक्री भएको अर्का कृषक दुर्गा बहादुर पुनले बताउनुभयो । बिउ बाहेक ४ क्विन्टल लसुन बिक्री गरेको उहाको भनाई छ । लसुन खेती गर्न सजिलो तथा रोग तथा किराको संक्रमण कम हुने भएकाले यसलाई राम्रो आम्दानी गर्दै आइरहेको पुनले बताउनुभयो । उहाले भनुभयो ‘उत्पादन लसुन लामो समयसम्म राख्दा तौल घट्ने, उम्रने तथा कुहिने समस्या आउने भएकाले भण्डारणको लागि उचित ठाउँको व्यवस्था भए धेरै किसान लाभान्वित हुने थिए ।’
अन्नबाली लगाउँदा ६ महिना पनि खान नपुग्ने किसान लसुन खेती गर्न थालेपछि राम्रो आम्दानी हुन थालेको पुनले बताउनुभयो । उहाले भनुभयो ‘हिउँदमा लसुन लगाएर राम्रै आम्दानी गर्न थालेका छौँ । अन्नबालीभन्दा धेरै गुणा आम्दानी लसुनबाट हुने गरेको छ ।’सल्यानमा ५ सय १० हेक्टर क्षेत्रफलमा लसुन खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । गत आर्थिक वर्ष ३ हजार १ सय ५२ मेटिक्टन लसुन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताउनुभयो ।
कम लगानी र मेहनतमा पनि राम्रो फाइदा हुन थालेपछि यहाँका ग्रामीण क्षेत्रमा लसुन खेतीप्रति आकर्षण बढेको उनको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्