काँग्रेसको १४ औँ महाधिवेशन चुनावी चहलपहल

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि आकाङ्क्षीहरूले खुलेर आफ्नो नाम सार्वजनिक नगरे पनि भित्रभित्रै कसरत भने सुरुआत भइसकेको जनाइएको छ । कसरी समूहमा पर्ने , केन्द्रीय नेताको राय र सल्लाहअनुसार अगाडि बढ्ने भन्दै कसरत सुरु हुन थालेको छ । आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा १० गाउँपालिका र २ नगरपालिकाका ९४ वडाका क्रियाशील सदस्यले सहभागिता जनाउन पाउने पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाल जिल्लामा कोही पनि नेता नआएकाले आधिकारिक रूपमा सभापतिका लागि कसले उम्मेदवारी दिने भन्ने टुङ्गो लागेको छैन । सबै जना अहिले सहमतिकै पक्षमा लागिराखेका छौँ । सामाजिक सञ्जाल हेर्दा त आकाङ्क्षी धेरै देखिएका छन् । पार्टीले बैठक बोलाएको छैन, साउन १२ गते वडा अधिवेशन, १६ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, २० गते क्षेत्रीय अधिवेशन, २३ गते जिल्ला अधिवेशनको तयारी गरेको छ । बैठक कहिले बस्ने भन्ने छलफल भएको छैन । अब सर्वोच्चको निर्णयलाई पर्खिरहेका छौँ, सहमतिमै सभापति चयन गर्छौँ ।”
गाउँपालिका तथा नगरपालिकाबाट गरी जम्मा एक हजार ५०४ जना सहभागी हुने भएका छन् । उहाँले भन्नुभयो “धेरै आकाङ्क्षी हुनु स्वभाविकै हो । काँग्रेसमा सबैको योगदान छ । हामी अहिले चुनाव नगरेर सहमति तथा मिलोमतो गरेरै सभापति चुन्ने प्रयासमा छौँ । ” पार्टीको बैठक बसेपछि सभापति पदका आकाङ्क्षीका थाहा हुनेसमेत पूर्व सभापति सिंहले बताउनुभयो ।
सभापतिमा १० को चर्चा
सभापतिका लागि जिल्लामा सात स्थानीय तहबाट १० नेता आकाङ्क्षी देखिएका छन् । यसमा जयपृथ्वी नगरपालिकाबाट वर्तमान पार्टी सभापति हर्क जङ्गबहादुर सिंह, क्षेत्रीय सभापति भरतराज जोशी, पूर्व जिविस सभापति, जयपृथ्वी नगर प्रमुखमा पराजित चेतराज बजाल, मष्टा गाउँपालिकाबाट पार्टी उपसभापति ज्ञानबहादुर बोहरा, सुर्मा गाउँपालिकाबाट खड्कबहादुर बोहोरा, पार्टी प्रवक्ता पुष्कल बोहोरा, केदारस्युँ गाउँपालिकाबाट रमेश भण्डारी, थलारा गाउँपालिकाबाट देवराज शर्मा, खप्तड छान्ना गाउँपालिकाबाट जगत्प्रसाद जोशी, बुङ्गल नगरपालिकाबाट प्रताप गुरुधामीको जिल्ला सभापतिका लागि चर्चा चलेको छ भने पाँच वटा स्थानीय तह वित्थडचिर , तलकोट , दुर्गाथली , छविसपाथिभेरा र साइपाल गाउँपालिकाबाट भने सभापतिमा को उठ्ने भन्ने खुलेको छैन ।
जिल्लामा यस पटक तीन हजार ८०० सयको हाराहारीमा क्रियाशील सदस्य थपिएका छन् । यसको नामावली केन्द्रमा पठाइ छानबिन भइरहेको बताइएको छ । यो सहित क्रियाशील सदस्यको सङ्ख्या लगभग सात हजार ७०० पुगेको प्रवक्ता बोहराले बताउनुभयो ।रासस








प्रतिक्रिया राख्नुहोस्