तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञा असार ३१ सम्म थपियो, होटेल तथा खाजाघर खुल्ने

चितवन। स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो । निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहने छ ।

निषेधाज्ञा थप भए पनि केही क्षेत्र खुकुलो पारिएको छ । आदेशअनुसार शुक्रवार देखी होटेल तथा खाजाघर टेक अवे र होम डेलिभरी सेवा दिने गरी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । होटेल तथा लज स्वास्थ्य मापदण्ड पालना गरी कूल कोठाको एक तिहाइ सङ्ख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने भएको छ । कोठा प्रत्येक दिन अनिवार्य रूपमा निसङ्क्रमण गर्नुपर्नेछ ।

यस्तै अब बजार दैनिक आठ घण्टा खोल्न पाइने भएको छ । आदेशमा भनिएको छ, “शुक्रवार देखी इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसल, भाँडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल बिहान ११ देखि साँझ ७ बजेसम्म खोल्न पाइने छ ।”

यसअघि साताको तीन दिन दिउँसो १२ देखि ६ बजेसम्म छ घण्टा मात्रै खोल्न पाइने व्यवस्था थियो । प्रशासनले शुक्रवार देखी बारअनुसार खुल्ने व्यवस्था हटाएको हो । यसबाहेक अत्यावश्यक सेवा दिने खाद्यान्न, तरकारी तथा फलफूल, दूध, माछा मासु, औषधि, ग्यास, निर्माण सामग्रीसम्बन्धी पसल तथा पुस्तक पसलमा पनि लगाइएको समय सीमा हटाइएको छ । अब यी पसल दैनिक खोल्न पाइनेछ ।

प्रशासनले यसअघिको अदेशमा नै सेवाग्राहीको बढी भिडभाड हुने सरकारी कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न पाइने निर्णय गरेको थियो । प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालयले बारअनुसार सेवा दिइरहेका छन् । अन्य सबै सरकारी कार्यालयले पनि स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गरिरहेका छन् ।

कार्यालयले जारी गरेको आदेशमा स्थानीय रुटमा चल्ने सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीअनुसार सञ्चालन गरिने जनाइएको छ । सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, मास्क अनिवार्य गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई प्रवेश निषेध गर्ने गरी जोर बिजोर प्रणाली लागू गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button