प्रदेश २ मा बजेटमा छलफल शुरु भएन

जनकपुरधाम । प्रदेश नंं २ का सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सभामा असार १ गते नै बजेट तथा कार्यक्रम पेश भए पनि बजेट माथि छलफल हुन सकेको छैन ।
प्रदेश सभाका सदस्यहरूले प्रदेश क्षेत्र विकास कार्यक्रमका लागि छुट्याएको बजेट कम भएको भन्दै छलफलमा नै अवरोध गर्ने सङ्केत देखेपछि बजेट माथिको छलफल गर्न सकेको छैन । यति मात्र नभएर प्रदेश सभाका सदस्यहरु अहिले असारे विकासमा पनि लागेका कारणले बैठकमा आउन नसकेपछि पनि बैठक नबसेको श्रोतले जनाएको छ ।
प्रदेश नंं २ का सरकारले चालु आर्थिक वर्षमा पनि सबै भन्दा बढी बजेट प्रदेश संसद् क्षेत्र विकासका लागि नै छुट्याएको भए पनि निर्वाचित प्रदेश सभाका सदस्यहरूले काम भएको भन्दै थप बजेटको माग गर्दै आएका छन् ।
अहिले प्रत्यक्ष निर्वाचित प्रदेश सभाका सदस्यहरूका लागि ३ करोड बजेट विनियोजन गरेको छ तर उनीहरूले ५ करोड हुनु पर्ने काम गर्दै आएका छन् । यसै गरी समानुपातिकका लागि डेढ करोड बजेट विनियोजन गरेको छ ।
सङ्घीय सरकारले अगामी आर्थिक वर्ष देखि संसद् क्षेत्र विकास कार्यक्रममा व्यापक अनियमितता सम्बन्धी गुनासो आएको भन्दै उक्त शीर्षकको बजेट नै हटाएको वेलामा प्रदेश नंं २ का सरकारले यस शीर्षकमा मात्र २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ ।
आजको लागि बोलाइएको प्रदेश नंं २ को प्रदेश सभाका बैठक २५ गते १ बजेसम्मका लागि स्थगित भएको सूचना प्रदेश नंं २ को प्रदेश सभा सचिवालयले टाँस गरेको छ । लगातार रुपमा बैठक स्थगित हुन थालेपछि प्रदेश सभाका केही सदस्यहरु बैठकमा भाग नलिइ फर्किने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्