कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न कर्मचारीलाई निर्देशन

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटको कार्यान्वयनमा कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न अर्थ मन्त्रालय मातहतका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ।
उपप्रधान तथा अर्थमन्त्रीले पौडेलले अर्थ मन्त्रालयका अर्थ सचिव, राजस्व सचिव र महालेखा नियन्त्रकसंग कार्य सम्पादन सम्झौता गर्न आयोजित कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन हुँदैन भन्ने विगतको मान्यतालाई परिवर्तन गरी बजेट प्रस्तुत हुन्छ र कार्यान्वयन पनि हुन्छ भन्ने मानक स्थापित हुने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको बताउनुभयो । राजस्व सचिव रामशरण पुडासैनीले कार्य सम्पादन सम्झौताले उत्तरदायित्व जिम्मेवारी बढाएको भन्दै त्यसले नतिजा बढाउन सहयोग पुगेको बताउनुभयो । महालेखा नियन्त्रक मधु मरासिनीले तल्लो तहसम्म कार्य सम्पादन सम्झौता गरी बजेटमार्फत घोषित कार्यक्रमहरू पूरा गर्ने बताउनुभयो ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले आगामी वर्षको बजेट कार्यान्वयनका तयारीका सन्दर्भमा विभिन्न मन्त्रालयहरूसँग छलफल गरिएको, आवश्यक निर्देशिका निर्माण भइरहेको जानकारी दिँदै कार्य सम्पादन सम्झौताले उन्नत खालको परिणाम ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसै अवसरमा सचिवहरूसँग महाशाखा प्रमुख र विभागीय प्रमुखहरूले समेत कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्