वालिङका कृषि उद्यमीहरू पुरस्कृत

स्याङ्जा । वालिङका कृषि उद्यमीहरूलाई पुरस्कृत गरिएको छ । कृषि कर्म मार्फत उदाहरणीय व्यक्ति बनेका यहाँका उद्यमीहरूलाई पुरस्कृत गरिएको हो । उत्कृष्ट व्यवसायीक सोचलाई व्यवहारमा उतार्न सफल भएको भन्दै उनीहरूलाई नगद सहित पुरस्कृत गरिएको वालिङ नगरप्रमुख दिलिपप्रताख खाँणले जानकारी दिनुभयो ।
उद्यमीहरूलाई पुरस्कृत गर्दै नगर प्रमुख खाँणले उद्यमशीलताको प्रवर्द्धनले नै उत्पादन बढाउन सकिने बताउनुभयो । उहाँले युएनडिपीसँगको आर्थिक साझेदारीमा कृषि क्षेत्रमा नगरपालिकाले काम गरिरहेको जानकारी गराउनुभयो ।
नगर उपप्रमुख कल्पना तिवारीले अनुदानमा प्राप्त सामाग्रीहरू सबैले मिलेर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सामाग्रीको सही तथा सामूहिक प्रयोगमा जोड दिनुहोस् ।’ त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले माटो सुहाउँदो कृषि खेतीलाई नगरपालिकाले प्राथमिकता दिइरहेको बताउनुभयो ।
त्यस्तै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्कृष्ट र उदाहरणीय काम गरिरहेका कृषि उद्यमीहरूलाई पुरस्कृत गरिएको बताउनु भयो । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत कृषकलाई पुरस्कृत गर्नुका साथै सामाग्री वितरण गरिएको हो ।
कृषि कर्ममा राम्रो काम गरेर उदाहरणीय बनेका ९ जना उद्यमीहरूलाई प्रशंसा स्वरूप नगद रु १० हजार तथा प्रमाणपत्रले पुरस्कृत गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । त्यस्तै १६ जना कृषकलाई गोठ सुधार कार्यक्रम अन्तरगत साझेदारीमा सहयोग गरिएको उहाँले बताउनु भयो । सो अवसरमा चापकटर, टनेल, ठेला लगायतका कृषि सामाग्री समेत प्रदान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्