तपाईँ सुन्दै हुनुहुन्छः

युरोकप फुटबलः फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदै

file photo

काठमाडौँ । १६ औँ संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज (बुधवार) राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । वेम्बली स्टेडियममा इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।


आज इंग्ल्यान्ड र डेनमार्क फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुट आउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

इंग्ल्यान्ड क्वाटर फाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो । यस्तै राउन्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्ड यस पटक अर्को इतिहास रच्ने योजनामा रहेको छ ।


डेनमार्क क्वाटर फाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो । त्यसअघि डेनमार्कले भने प्रि–क्वाटर फाइनलमा वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

डेनमार्क घरेलु टोलीलाई स्तब्ध बनाएर अघि बढ्न चाहन्छ । इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button