पर्साका ७ स्थानीय तहमा अझै बजेट सार्वजनिक भएन
वीरगंज । आपसी विवादको कारण पर्साका ७ वटा स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेका छैनन् ।
स्थानीय तहले असार १० गतेभित्र बजेट एवम् नीति तथा कार्यक्रम सार्वजनिक गरी सक्नुपर्ने स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था छ । तर ऐनअनुसारको अवधि सकिएको दुई साता बित्दा पनि पर्सा जिल्लाको विन्दवासिनी, जिराभवानी, धोबीनी, कालिकामाई, पटेर्वासुगौली, जगरनाथपुर र ठोरी गाउँपालिकाको बजेट सार्वजनिक गर्न सकेका छैनन् ।
प्रायः स्थानीय तहले भुक्तानीको बहाना बनाए पनि आपसी भागबन्डा नमिल्नु नै बजेट सार्वजनिकमा ढिलाइ हुने मुख्य कारण भएको बुझिएको छ । खुलेर नबताए पनि स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरू बीचको तालमेल नमिल्दा नीति तथा कार्यक्रम सार्वजनिकमा समय लागेको नागरिकको बुझाई छ ।
धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनियारले असार मसान्तको काममा व्यस्त हुँदा ढिलाइ भएको स्वीकार गर्दै असार २७/२८ गतेसम्ममा सार्वजनिक गर्ने बताउनुभयो ।
विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानुले पनि अहिले व्यस्तता बढेको बताउँदै नीति तथा कार्यक्रम सार्वजनिक गर्न अविलम्ब भएको स्वीकार गर्दै छिटै बजेट सार्वजनिक गर्ने बताउनुभयो ।
यता ठोरी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष रामप्रकाश कुँवरले यही असार ३० गते सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
जिराभवानी गाउँपालिकाको बजेट असार २५ गते सार्वजनिक हुने गाउँपालिकाकी उपाध्यक्ष उषादेवी थरुनीले बताउनुभयो ।
तोकिएको समयमा बजेट सार्वजनिक गर्न नसक्ने स्थानीय तहलाई सरकारले दण्ड जरिवाना र कारबाही गर्न नसक्दा स्थानीय तहमा मनपरी तन्त्र हाबी भएको बुद्धिजीवीहरुले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्