तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट उत्पन्न परिस्थिति लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा संसादहरुले देशको राजनीतिक अवस्था, संविधान कार्यान्वयन, कोरोनाबाट उत्पन्न परिस्थिति लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैठकमा सांसद खिमलाल भट्टराईले अहिलेको सरकार संविधान कार्यान्वयनका लागि प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि सरकारकाले गरिरहेको कामसँगै विकास निर्माणका राम्रा कामलाई समेत अन्य दल तथा प्रतिपक्षीले देख्न नसकेको र अवरोध खडा गर्न खोजेको आरोप समेत लगाउनुभयो ।

सांसद जितेन्द्र नारायण देवले कोरोना विरुद्धको खोप ल्याउने सरकारको कूटनीति फेल भएको बताउनुभयो ।

उहाँले विश्वमा विभिन्न देश र कम्पनीले कोरोना विरुद्धको खोप बनाइरहेको भए पनि आवश्यक मात्रमा खोप ल्याउन नसक्नु सरकारको कूटनीतिक कमजोरी भएको जिकिर गर्नुभयो ।

सांसद रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरेर अक्ष्यम्य अपराध गरेको बताउनुभयो ।

बैठकमा सांसदहरुले काठमाडौँ उपत्यका भित्रै भएको जातीय विभेदका घटनामा सरकारका मन्त्रीले नै त्यस समर्थन गरेको भन्दै जातीय विभेद गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

सांसदहरुले सिन्धुपाल्चोकको मेलम्चीमा बाढी र पहिराबाट मानवीय क्षतिसँगै निजी, सरकारी र सार्वजनिक गरेर अरबौँको सम्पत्ति नष्ट भएकाले तत्काल त्यहाँ आवतजावतको व्यवस्था गरी पीडितलाई राहत सहित पुनर्वासको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरुले भौगर्भिक रुपमा जोखिम स्थानमा रहेका बस्तीहरू सुरक्षित स्थानमा सार्नेतर्फ सरकारलाई समयमा नै ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button