कञ्चनपुरका किसान व्यवसायिक बाख्रापालनतर्फ उन्मुख

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख भएका छन् ।
प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसाय कृषि उत्पादन केन्द्र ९पकेट० विकास कार्यक्रमअन्तर्गत मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध किसानलाई अनुदान रकम उपलब्ध गराई व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख गराइएको हो ।
व्यावसायिक रूपमा बाख्रापालनका लागि परियोजनाले १५ लाख २२ हजार १ सय ५० र समूहमा आबद्ध किसानले १४ लाख ७० हजार ५० रकम बेहोर्ने सम्झौता गरिएको छ ।
कार्यक्रमको कूल लागत ३० लाख रहेको छ । समूहमा आबद्ध २४ परिवारले गरेको बाख्रापालनबाट १ सय १५ जना लाभान्वित भएका छन ्।
नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टले खरी, जमुनापारी, बोयर क्रस, वारवरी, विटल, सिरोही, जमुनापारी क्रस जातका बाख्रा वितरण गरिएको जानकारी दिनु भएको छ ।
उहाँका अनुसार बाख्रामा विशेषगरी निमोनिया, खोरेत, भ्यागुते, थुनिलो, कक्सीडियोसीस, कन्टेजियस इकथाइमा, जुका लगायतका रोग देखापर्ने गरेका छन् ।
बाख्रालाई सन्तुलित आहारको व्यवस्थाका लागि समेत किसानलाई जानकारी दिने गरिएको उहाँले बताउनुभयो ।
बाख्राका लागि आवश्यक पर्ने डालेघाँस र अन्य पोषणयुक्त घाँसका बिरुवा लगाउनका लागि गाउँ नजिकैको सार्वजनिक नदी तटीय क्षेत्रको जग्गालाई छनोट गरिएको वडाध्यक्ष जगतबहादुर सिंहले बताउनुभयो ।
नदी तटीय क्षेत्रमा झण्डै २० बिघा क्षेत्रफलमा तारबार गरी घाँस रोप्ने कार्यलाई केही दिनभित्रै शुरु गरिने उहाँको भनाइ छ ।
मध्यवर्ती युवा बाख्रापालन समूहका अध्यक्ष तेजबहादुर विष्टले परम्परागत तरिकाले बाख्रापालन गर्दा लागत खर्च धेरै आउने गरेको उल्लेख गर्दै आधुनिक तरिकाले बाख्रापालन गर्दा लागत घटन गई आम्दानी बढ्ने भएकाले यसलाई व्यावसायिकरूपमा अगाडि बढाउन हौसिएको बताउनुभयो ।
गरिबी हटाई विपन्न वर्गका व्यक्तिलाई आत्मनिर्भर बनाउनका लागि यस व्यवसायले सघाउ पुर्याउने विश्वास लिएको अध्यक्ष बिष्टको भनाई छ ।
व्यावसायिक रूपमा बाख्रापालन व्यवसायमा संलग्न किसानको व्यवसाय प्रवद्र्धनका लागि नगरपालिका समेत सहयोग गर्न तत्पर रहेको उहाँले बताउनुभयो ।
मासुमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि किसानलाई व्यावसायिक बाख्रापालनतर्फ डोेर्याइएको उहाँको भनाई छ । सिमलफाँटा गाउँका अधिकांश परिवारले बाख्रापालन गर्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्